नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा


मुग्लिन । चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएको ढुङ्गा हटाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिएपछि अहिले दुईतर्फी सवारीसाधन नियमित रूपमा सञ्चालनमा छन् ।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार सम्भावित दुर्घटना रोक्न बुमसहितको स्काभेटर प्रयोग गरी ढुङ्गा हटाइएको हो ।
सडक बन्द अवधिभर सवारीसाधनलाई लेन अनुशासनमा रोक्न आग्रह गरिएको थियो ।