विपद्को अवस्थामा पूर्वसूचना प्रणाली लागू गर्न निर्देशन


काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वर्षायाममा बाढी, पहिरो, डुबानजस्ता जोखिमका क्षेत्र पहिचान गरी प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले हालको एसएमएस प्रणाली पर्याप्त नभएको भन्दै फोनमार्फत बोलेर सूचना दिने नयाँ प्रणाली यही वर्षदेखि लागू गर्न पनि आग्रह गरेको छ ।
समितिले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी जोखिम क्षेत्रमा जनचेतना अभिवृद्धि, स्थानान्तरण, उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन गृह, रक्षा र अन्य सरोकार मन्त्रालयलाई निर्देशन दिएको छ ।
साथै, विगतका विपद्को मूल्याङ्कन गरी प्रभावकारी रणनीति बनाउन र पीडितलाई प्रत्यक्ष लाभ पुर्याउने राहत कार्ययोजना लागू गर्न पनि गृह मन्त्रालयलाई आग्रह गरिएको छ ।