सुदूरपश्चिम ‘साक्षर प्रदेश’ घोषणा


धनगढी । सुदूरपश्चिम प्रदेशलाई आज औपचारिक रूपमा ‘साक्षर प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आयोजित विशेष समारोहमा प्रदेशलाई साक्षर घोषणा गरेका हुन् ।
१५ देखि ६० वर्ष उमेर समूहका नागरिकमध्ये ९५ प्रतिशतभन्दा बढी साक्षर भएपछि प्रदेश साक्षर घोषित भएको हो । शिक्षा विकास निर्देशनालय दीपायलका महानिर्देशक दुर्गादत्त विष्टका अनुसार यस उमेर समूहका १६ लाख २३ हजार ७१९ जनामा ९६.१९ प्रतिशत साक्षरताको दर पुगेको छ ।
महानिर्देशक विष्टले साक्षरता घोषणा गर्नका लागि तोकिएको १२ मापदण्डमध्ये ६ मापदण्ड पुरा गरेपछि वडा, पालिका र जिल्ला हुँदै प्रदेशस्तरमा साक्षर घोषणा गर्न सकिने जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लालाई क्रमशः साक्षर जिल्ला घोषणा गरिएको थियो। सबैभन्दा पहिले दार्चुला र सबैभन्दा पछि डोटी जिल्लालाई साक्षर घोषणा गरिएको हो। जिल्लागत साक्षरता दरमा बाजुरा (९७.३१%), डोटी (९६.५५%) र बैतडी (९६.५३%) अगाडि छन् भने सबै जिल्लाको साक्षरता दर ९५ प्रतिशतभन्दा माथि छ ।
नेपाल सरकारले ल्याएको ‘साक्षर नेपाल वर्ष २०७६’ अवधारणापत्रअनुसार साक्षर वडा, पालिका, जिल्ला र प्रदेश घोषणाको प्रक्रिया अघि बढाइएको हो । हालसम्म देशभर ६६ जिल्ला साक्षर घोषित भइसकेका छन् । साक्षर जिल्ला घोषणा गरिएको पहिलो जिल्ला सिन्धुपाल्चोक हो ।