Ad Image

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणीः फजुल खर्च मात्र हो, कुनै उपलब्धी छैन

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prabhu-sah.jpg

वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक अरु केही नभएको टिप्पणी गरेका छन् । युद्धरत मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन नसक्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरु लावालस्कर सहित विदेश जानुको कुनै अर्थ नभएको उनले बताए । 

वीरगञ्जमा बिहीबार आजपाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्रीदेखी मन्त्रीहरुको विदेश भ्रमणको कुनै उपलब्धी नभएकाले लावालस्कर लागेर यसरी हिँड्नु जनताको करको चरम दुरूपयोग भएको टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण असार १६ देखि १९ सम्म हुँदैछ भने अन्य विभिन्न मन्त्रीहरुको समेत विभिन्न देशको भ्रमण मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ । प्रधानमन्त्रीदेखी विभिन्न मन्त्रालयका मन्त्रीहरु विदेश भ्रमण गर्दा मुलुकको फजुल खर्चबाहेक अरु केही पनि नभएको उनले बताए ।  

गत बर्ष बाढीपहिरो हुँदा प्रधानमन्त्री ओली विदेश सयरमा रहेको र अहिले बाढिपहिरो सुरुहुँदै गर्दा नेपाली जनता पीडामा रहेको बेला पनि प्रधानमन्त्री विदेश गायब हुने कार्यक्रम भएको उनको टिप्पणी थियो । प्रधानमन्त्री ओलीलाई बालुवाटार, बालकोट र सिंहदरबारबाहेक केही थाहा नभएको बताउदै उनले बाढीपहिरोका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा, नेपाली जनता घण्टौँ सडकमा सास्ती खेपिरहेको बेला सरकारले त्यसलाई सहज गर्ने काम गर्नुपर्ने उनले बताए ।