Ad Image

ललितपुरमा ‘लागूऔषध दुर्व्यसनरहित घर अभियान’ सुरु

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-06-26 at 11.15.39 PM.jpeg

ललितपुर । ललितपुरमा लागूऔषध दुर्व्यसनरहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा ‘लागूऔषध दुर्व्यसनरहित घर अभियान’ सुरु गरिएको हो । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ । 

कार्यक्रममा मेयर महर्जन, महानिरीक्षक थापा, अतिरिक्त महानिरीक्षक तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरे। साथै अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरेका छन् ।
 
समारोहमा मेयर महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले यस अभियानलाई सफल बनाउन ललितपुर महानगरपालिकाले सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषधरहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे। लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने समेत उनको भनाइ छ । उनले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।