कांग्रेसले बोलायो पदाधिकारी बैठक, केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने


काठमाडौं । नेपाली कांग्रेसले आइतवार बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न कांग्रेसले आइतवार बिहान साढे १० बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएको हो ।
सभापति देउवाले सोमवार दिउँसो एक बजे बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । उक्त बैठकका एजेन्डा तय गर्न पदाधिकरी बैठक बस्न लागेको हो ।
कांग्रेसको कार्यसमिति बैठक गत साउनपछि सोमवार बस्न लागेको छ । बैठकले पार्टीले निर्धारण गरिदिएको मितिमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने कि नथप्ने भन्ने निर्णय गर्नेछ ।
कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, थारु सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घलाई निर्देशन दिएको थियो । उनीहरूले चैत अन्तिमसम्म महाधिवेशन गर्न नसकेपछि न तदर्थ समितिको म्याद थपिएको छ, न भङ्ग गरिएको छ ।
बैठकले गत भदौ यता कार्यसम्पादन समितिले बैठकले गरेको निर्णय पनि अनुमोदन गर्ने बताइएको छ ।