माधव नेपालले सफाइ पाउने एकीकृत समाजवादीको विश्वास


काठमाडौं । नेकपा एकीकृत समाजवादीले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाललाई भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष निकालेको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेपालमाथि राजनीतिक प्रतिशोधका साथ भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष निकालेको हो ।
अध्यक्ष नेपालमाथिको मुद्दा पार्टी स्थापनाकालदेखि नै सुरू भएको षड्यन्त्रको निरन्तरता भएको प्रवक्ता प्रकाश ज्वालाले बताए । उनले भने, ‘पार्टीविरुद्धको षड्यन्त्रको अर्को श्रृंखलाको रूपमा अध्यक्षमाथि झूटो मुद्दा लगाइएको छ । यो पार्टी र आन्दोलनमाथिको प्रहार हो । षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको हो ।
उनले पताञ्जली जग्गा प्रकरणमा कानुनी उपचारका निम्ति लडिरहने निष्कर्ष बैठकको रहेको बताए। उनले अध्यक्ष नेपालले जिम्मेवारीबाट राजीनामा दिने विषयमा छलफल भइनसकेको बताए। उनले भने, 'त्यस विषयमा छलफल भएको छैन। उहाँले बैठकको अध्यक्षता गर्दै हुनुहुन्छ। संसदीय दलको बैठकबाट संसदीय दलको नेताबारे छलफल होला। अहिले त्यस्तो केही भएको छैन।' राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास उनले गरे ।