सुन्दरबजार नगरपालिकामा ‘इन्फर्मेसन कम्युनिकेशन टेक्नोलोजी’ तालिम सञ्चालन

.jpeg)
काठमाडौं । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा दुई दिने ‘इन्फर्मेसन कम्युनिकेशन टेक्नोलोजी’ तालिम सञ्चालन भएको छ । रोटरी क्लब अफ काठमाडौं थापाथलीको नेतृत्वमा सुन्दरबजार नगरपालिका र रोटरी क्लब अफ लमजुङको सहकार्यमा दुई दिनसम्म चल्ने तालिम आजदेखि सुरु भएको हो ।
आज रोटरी क्लब लमजुङका अध्यक्ष रोटेरियन मुकेश कुवरको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरी तालिमको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष कुवरका साथै सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण प्रसाद कोइराला, सुन्दरबजार नगरपालिका १० का वडाध्यक्ष दीपक ढकाल, रोटेरियन प्रजुन खड्का, रोटेरियन प्रदिप खड्का, रोटरी क्लब अफ लमजुङका पूर्वअध्यक्ष रोटेरियन रेशम घिमिरे र रोटेरियन कृष्ण लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
सुन्दरबजार नगरपालिका वडा नम्बर १० धुसेनीस्थित श्री सौभाग्य सदन मा.वि मा सञ्चालन भइरहेको तालिममा २० वटा विद्यालयका २७ जना शिक्षकको सहभागिता रहेकाे छ । तालिमका प्रशिक्षक ईश्वरी न्यौपाने छन् ।
यसअघि ४७ औं ब्याचसम्म नेपालभित्रका ५५३ विद्यालयका ९१५ जना शिक्षकले उक्त तालिम लिएको समेत कार्यक्रममा जानकारी दिइएको छ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको रोटरी क्लव एक सामाजिक संस्था हो ।