Ad Image

पर्सामा लागूऔषध कारोबारको जालो तोडिदैँ, एकै वर्षमा १५१ कारोबारी पक्राउ

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news866780..jpg

वीरगंज। लामो समयदेखि लागूऔषध कारोबारको हब बन्दै गएको पर्सा जिल्लामा प्रहरीले सञ्चालन गरेको नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले पुरै एक्सनका साथ सञ्चालन गरेको लागूऔषध कारोबार नियन्त्रण अभियान प्रभावकारी भएको छ । 

पर्सा जिल्लाको विभिन्न स्थानबाट प्रहरीले यस आर्थिक वर्षमा ठूलो परिमाणमा विभिन्न प्रकारका लागूऔषध बरामद गरेको छ। त्यस्तै कारोबारमा संलग्न तथा ठूलो संख्यामा दुर्व्यसनीलाई कार्बाहीको दायरामा ल्याइएको छ ।

यस आर्थिक वर्षको साउन महिनादेखि गत असार १२ गतेसम्म प्रहरीले १५ क्विन्टल ६१ किलोग्राम भन्दा बढी गाँजा बरामद गरेको छ। त्यस्तै, ६ क्विन्टल २५ किलोग्राम चरेस, ३८४ ग्राम खैरो हेरोइन र १ क्विन्टल ४९ किलोग्राम अफिम बरामद गरिएको एसपी मिश्रले बताए ।


सोही अवधिमा प्रहरीले नशालु ईन्जेक्सन फेनारगन, डाइजेपाम नुरफिन ९ हजार एम्पुल, नशालु नाइट्राभेट ट्याब्लेट, ३ हजार ७०८ पिस, नशालु झोल १८६ फाईल कोरेक्स सिरप र नशालु क्याप्सुल ट्रामाडोल २ लाख ८९ हजार पिस बरामद गरेको एसपी मिश्रले जानकारी दिए ।

पर्सा जिल्लामा जकडिएको लागूऔषधको जालो तोड्न विभिन्न किसिमका लागूऔषधका साथ पक्राउ परेका १५१ जनामध्ये ११४ जनालाई कार्बाहीको दायरामा ल्याएको तथा बाँकीलाई सामान्य कार्बाही गरी तारेखमा छोडिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।

विगतदेखि नै लागूऔषध उत्पादन तथा विभिन्न जिल्लाबाट भारततर्फ ढुवानी गर्ने मुख्य मार्ग पर्सा जिल्ला रहेको थियो। तर एसपी मिश्रले पुरै एक्सनका साथ लागूऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाएपछि कारोबारको जालो तोड्न प्रहरी सफल भएको उनको भनाइ छ।

नेपालको मुख्यद्वार तथा भारतीय सहर रक्सौलसँग जोडिएको वीरगंज लागूऔषध दुर्व्यसनी र कारोबार नियन्त्रण प्रहरीले एक्लै चाहेर पनि गर्न नसक्ने एसपी मिश्रले बताए ।

आफू र आफ्ना सम्पूर्ण सहकर्मीको प्रयासपछि पर्सामा लागूऔषध कारोबार विगतको तुलनामा निकै कमी आएको उनको भनाइ छ।

पर्सा जिल्लामा लागूऔषधको कारोबार पूर्ण रुपमा नियन्त्रण गर्न जिल्लाका नागरिक समाज र सेवनकर्ताको अभिभावकको अहम भूमिका हुने भएकाले सहयोग गर्न एसपी गौतम मिश्रले आग्रह समेत गरेका छन्।