Ad Image

धान दिवसको अवसरमा कीर्तिपुरमा बृहत रोपाइँ कार्यक्रम सम्पन्न

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ropai.jpg

काठमाडौं । ‘युनिभर्सल डिलाईट एण्ड मेमोरियल फाउण्डेसन नेपाल’, ‘श्री विद्योदय आधारभूत विद्यालय’ र ‘नेपाल आशा’ को संयुक्त आयोजनामा आइतबार कीर्तिपुरको कुटुम्ब बस्तीमा वृहत् रोपाइँ कार्यक्रम सम्पन्न भएको छ । 

आज असार १५ को अवसर पारेर आयोजना गरेको बृहत रोपाइँ कार्यक्रमको मुख्य उद्देश्य बालबालिकालाई नेपाली कृषि प्रतिको सम्मान, परम्परा र माटोसँगको सम्बन्धबारे जानकारी गराउनु रहेको आयोजक संस्था युनिभर्सल डिलाईट एण्ड मेमोरियल फाउन्डेसन नेपालले जनाएको छ ।

कार्यक्रममा बालबालिकाले धान रोप्दै, हिलोमा रमाउँदै असार १५ को वास्तविक अनुभव लिएका थिए । उनीहरूलाई धान उत्पादनको महत्व, खाद्य सुरक्षामा यसको योगदान र आत्मनिर्भरताको सन्देश समेत दिइएको थियो ।  

कार्यक्रममा कृषकहरू, शिक्षक, अभिभावक र विभिन्न सामाजिक अभियन्ताहरूको उपस्थिति थियो । सहभागीहरूले परम्परागत रोपाइँ गीत गाउँदै, दही–चिउरा खाँदै उत्सवलाई अझ रंगीन बनाएका थिए ।

यस किसिमको सामूहिक प्रयासले संस्कार र ज्ञानको आदान–प्रदान मात्र नभएर  बालबालिकाको भावनात्मक, सामाजिक र व्यवहारिक शिक्षामा महत्वपूर्ण टेवा पु¥याउने आयोजक संस्थाको दाबी  छ ।

संस्थाले आगामी दिनमा पनि यस्ता मौलिक परम्परा र संस्कृतिसँग जोडिने कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएको छ । श्री युनिभर्सल डिलाईट एण्ड मेमोरियल फाउण्डेसन नेपाल (यु.डि.एम.एफ)ले असहाय, अनाथ, विपन्न र जेहेन्दार बालबालिकालाई बिहान ७ देखि ९ र बेलुका ४ देखि ६ बजेसम्म निःशुल्क ट्युसनमार्फत शिक्षा प्रदान गर्दै आएको छ ।

स्थानीय सरकार, समाज कल्याण परिषद्, जिल्ला समन्वय समिति लगायत विभिन्न निकायहरूसँग सहकार्य गर्दै संस्था निरन्तर अघि बढिरहेको छ ।