पर्सामा पोषण पूरकमा ५ गुणाभन्दा बढी असुल्ने पक्राउ


पर्सा । पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि)को पाँच गुणाभन्दा बढी मूल्य कायम गरेर बिक्री गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । सीमावर्ती बजार रक्सौलबाट फुड सप्लिमेन्ट औषधि खरिद गरेर वीरगञ्जमा जभाभावी मूल्य राखेर प्याकिङ तथा बेचबिखन गर्दै आएका वीरगञ्ज महानगर–२६ का जितेन्द्रप्रसाद कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले २१ थरिका विभिन्न फुड सप्लिमेन्ट औषधि कालोबजारी गरेको अभियोगमा कुर्मीलाई पक्राउ गरेर कालोबजारीअन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए।
“भारतबाट सस्तो मूल्यमा खरिद गरी नेपाल भित्र्याई उक्त औषधिहरूको बट्टामा आफुखुसी मूल्य राखेर बेचबिखन गरेको सूचनाका आधारमा पक्राउ गरेका हौँ”, उनले भने । कुर्मीबाट करिब रु २५ लाख मूल्य पर्ने औषधि बरामद गरेको प्रहरीले जनाएको छ ।