Ad Image

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा पदबाट निलम्बित

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Thai.jpg

एजेन्सी । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार निलम्बन गरेको छ । कम्बोडियासँगको सीमा विवादमा मन्त्रीमण्डलको नैतिकता उल्लङ्घन भएको आशंकामा छानबिन सुरु गर्दै अदालतले उनलाई पदबाट निलम्बन गरेको हो ।

लिक भएको फोनवार्तामा उनले कम्बोडियाका पूर्व नेता हुन सेनलाई ’काका’ सम्बोधन गर्दै थाई सैन्य कमान्डरलाई ‘प्रतिद्वन्द्वी’ भनेपछि तीव्र आलोचना भएको थियो । रूढीवादी सांसदहरूले पेटोङटार्नमाथि सेनालाई कमजोर बनाएको र नैतिक मापदण्ड उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

यो घटनाले उनको पार्टी ‘फेउ थाई’ मा असर पारेको छ, एक गठबन्धन साझेदार टुटेको छ र बैङ्ककमा विरोध प्रदर्शन भएको छ । संवैधानिक अदालतले बहुमतले उनलाई निर्णय नआएसम्मका लागि निलम्बन गरेको हो ।

यस्तै मङ्गलबार उनका बुबा, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा पनि शाही मानहानिको आरोपमा फौजदारी अदालतमा उपस्थित भए। दोषी ठहरिए १५ वर्षसम्म कैद हुन सक्नेछ । विश्लेषकहरूका अनुसार सिनावात्रा परिवार हाल राजनीतिक संकटको गम्भीर मोडमा पुगेको छ ।