Ad Image

मेवा बिक्रीबाट आम्दानी गर्दैै सहकारी

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/photo mewa.jpg

दाङ । दाङको एक कृषि सहकारीले मेवाखेतीबाट राम्रो आम्दानी गर्दै आएकोे छ । घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ । 

सहकारीले नौ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्यावसायिक रुपमा रेड लेडी जातको मेवाखेती सुरु गरेको थियो । उक्त जग्गाको वार्षिक रु ३६ हजार भाडा तिर्ने गरिएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताए । 

सहकारीले हालसम्म मेवाका बिरुवा बिक्रीबाट रु ५० हजार र पाकेको फल बिक्री गरेर रु दुई लाख आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक चौधरीले बताए । मेवा बिक्रीबाट आएको मुनाफालाई शेयर सदस्यलाई दिने गरिएको उनी बताउँछन् । 

सुरुमा १० पोकाबाट मेवाका बिरुवा उत्पादन गरिएको थियो । त्यसमा २५० बिरुवा सहकारीबाट लगाइएको उनको भनाइ छ । एक पोका बीउलाई रु आठ हजार ५०० पर्ने गरेको उनी बताउँछन् । 

प्रत्येक पोकाबाट ४०० बिरुवा उत्पादन हुने गरेको उनको अनुभव छ । मेवाको बिरुवा पाँचभन्दा बढी लैजानेलाई रु १०० का दरले र त्योभन्दा कम लैजानलाई रु १५० का दरले बिक्री गर्ने गरेको संस्थाका व्यवस्थापक चौधरीले बताए । 

मेवाको फल र बिरुवा पनि राम्रौ बिक्री हुने गरेको उनी बताउँछन् । सहकारी संस्थामार्फत आम्दानी गर्न पाउँदा सबै शेयर सदस्य खुसी भएको उनले भने । कुनै पनि आयआर्जन हुने काममा जोडिएपछि आम्दानी बढ्दै जाने उनको भनाइ छ । भोलिका दिन व्यवसायलाई अझ बढाउँदै लैजाने उनले बताए । 

यसअघि ‘रेमिट्यान्स’ सेवामार्फत आम्दानी गर्दै आएको सहकारीले नयाँ सहकारी ऐनमा कृषि सहकारीले उक्त सेवा सञ्चालन गर्न नपाउने भएपछि आम्दानीका अन्य उपाय खोज्न थालेको थियो ।

सोही क्रममा सहकारीले धान खरिद गरी चामल बिक्रीबाट पनि गत वर्ष रु डेढ लाख आम्दानी गरेको थियो । ३५० सदस्य रहेको बलिदान कृषि सहकारीको रु डेढ करोड पुँजी रहेको छ ।