Ad Image

सिरहामा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाइमा किसान

User Image मुकेशकुमार यादव | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/s.jpeg

सिरहा । सिरहामा हाल सम्म १८ प्रतिशत धान मात्र रोपाइँ भएको छ । लामो समयदेखि आकाशे वर्षा नभएका कारण जिल्लाभरिमा करिब १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको हो । लामो समयदेखि वर्षा नभएका कारण जिल्लाका ८२ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन ।

लामो समयदेखि वर्षा नभएको तथा खेतहरूमा सिँचाइको सुविधासमेत नभएकै कारण हालसम्म करिब १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र सिरहाका कार्यालय प्रमुख नरेन्द्र कुमार महासेठले जनाएको छ ।

पानी नपरेपछि यो वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र पछि पर्याप्त वर्षा पनि नभएका कारण अत्यन्तै कम जग्गामा धान रोपाइँ हुन सकेको केन्द्रका प्रमुख महासेठले बताए । असारको १५ गतेसम्ममा धान रोपाइँ सकेर किसान आराम गर्नुपर्नेमा अहिलेसम्म १८ प्रतिशत मात्र धान रोपाइ भएको उनले बताए ।

वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक आर्टिफिसियल सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् । अधिकांश किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन् ।

यस्तै कृषि मजदुरको अभावमा पनि बर्सेनि धान खेती प्रभावित हुँदै आएको छ । एकातिर सिँचाइको अभाव अर्कोतिर आवश्यकता अनुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको गोलवजार १० का किसान राम किसुन महतोको गुनासो छ ।

सिरहामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ । सिरहामा कूल धान खेती योग्य ५४ हजार क्षेत्रफल जग्गा छ । तर, हाल सम्म जम्मा ९ हजार सात सय बिस हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ ।