‘कुलिङ पिरियड’ चलखेलबारे संसदीय छानबिन समिति बनाइनुपर्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय निजामती सेवा विधेयकमा गरिएको संशोधनप्रति गम्भीर आपत्ति जनाउँदै सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित विधेयकमा अवकाशप्राप्त कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ राखिएको भए पनि संसदबाट पारित संस्करणमा सो व्यवस्था हटाइएको छ । समितिबाट पारित प्रावधानभन्दा फरक शब्दावली संसदबाट पास भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
महामन्त्री थापाले यो विषय मानवीय त्रुटि हो कि नियोजित बदनियत भन्ने छुट्याउन छानबिन जरुरी रहेको बताएका छन् । उनले यदि समिति सचिवालय वा अन्य पक्षबाट दबाब परेको भए, त्यो पनि सार्वजनिक हुनुपर्ने बताएका छन् ।
‘हामीले पारित गरेकोभन्दा फरक ढंगले विधेयक अघि बढेको छ भने संसदको गरिमा र विश्वसनीयतामै प्रश्न उठ्छ’, थापाको भनाइ छ ।