पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सरकारी सेवासुविधा फिर्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताका लागि गृह मन्त्रलायलमा निवेदन दिएकी छन् । गत असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।
सरकारले पूर्वराष्ट्रपति भण्डारीलाई दुई जना स्वकीय र तेलबापत रकम पठाउँदै उपलब्ध गराउँदै आएको थियो । उक्त सेवा सुविधा अबदेखि नलिने पूर्वराष्ट्रपतिले पठाएको पत्रमा उल्लेख छ।
पूर्वराष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने भण्डारीले चाहेर पनि त्याग्न नमिल्ने बताइएको छ ।
गत असार १४ गते एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिँदै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन्।