कुलिङ पिरियड सम्बन्धमा रामहरि खतिवडाको जवाफ–गल्ती देखियो भने जस्तोसुकै सजाय भोग्नेछु

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियड सम्बन्धमा आफ्नो गल्ती देखिएमा जुनसुकै सजाय भोग्न तयार भएको बताएका छन् । मंगलवार समितिको बैठकमा सभापति खतिवडाले सांसदहरको जवाफ दिँदै यस्तो बताएका हुन् ।
उनले सभामुखलाई यस विषयमा छानबिन गर्न आग्रह समेत गरेका छन् । उनले निजामती विधेयकको कुनै पनि इस्यूमा समितिको कार्यअधिकार भन्दा बाहेकमा रहेर कहिल्यै पनि कुनै शब्द नथपेको समेत दाबी गरे ।
उनले भने, ‘यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो । सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छु । गल्ती देखियो भने रामहरी खतिवडा जस्तोसुकै सजायको भागी बन्न तयार छु ।’
सभापति खतिवडाले कुनैपनि इस्यूमा समितिको कार्यभन्दा बाहेक आफूले थपेको भनेको ‘राजीनामा दिएपछि’ र ‘अन्य सरकारी’ भन्दा बाहेक भन्ने रहेको बताए ।
उनले आफ्नो राजनीतिलाई नै सक्नेगरी समितिका काममाथि प्रश्न उठाउने काम भएको बताए ।