हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिद्वारा ‘न्यायिक दर्पण’ विमोचन


हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिले प्रकाशन गर्ने ‘न्यायीक दपर्ण’ को विमोचन गरिएको छ । उपमहानगर भित्र भएको न्यायीक गतिविधि समेटेर प्रकाशन गरिएको न्यायिक दर्पणको बुधवार उपप्रमुख तथा न्यायीक समितिका संयोजक राजेश बानियाँले विमोचन गरेका हुन् ।
उपमहानगरपालिकाको न्यायिक समितिको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत भएको मेलमिलापकर्ताहरुको वार्षिक समीक्षामा न्यायिक दर्पणको विमोचन गरिएको हो । विमोचन कार्यक्रममा उपप्रमुख बानियाँले न्यायिक समितिको प्रभावकारी कार्य सम्पादनमा मेलमिलापकर्ताहरुको भुमिका प्रशंसनीय रहेको र आगामी दिनमा थप उच्च मनोबल राखेर काम गर्न निर्देशन दिए ।
कार्यक्रममा न्यायिक समिति मातहत रहेका सबै केन्द्रहरूको कार्य सम्पादनको प्रगति अवस्थाको प्रस्तुति एवम् थप व्यवस्थित गर्ने विषयमा छलफल भएको छ । कार्यक्रमा सहभागी मेलमिलापकर्ताहरुलाई सुरक्षित वैदेशिक रोजगारीमा मेलमिलापकर्ताको भूमिकाका विषयमा अभिमुखीकरण समेत गरिएको छ ।
न्यायिक समितिका सदस्य ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, समितिका सदस्य सन्तुमाया पाख्रीन, उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख डा.भीमप्रसाद तिमल्सिना, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता ईश्वरराज ढकाल, शाखा प्रमुखहरु लक्ष्मण मैनाली, गंगाकुमारी चौलागाईं लगायतका कर्मचारीहरु, साहित्यिक तथा धार्मिक व्यक्तित्व हयग्रीब आचार्य, उपमहानगरका ११ वटै मेलमिलाप केन्द्रका संयोजकहरू र सूचीकृत मेलमिलापकर्ताहरुको उपस्थिति थियो ।