स्पेनका व्यवसायीसँग प्रधानमन्त्रीले भने–नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकुल देश हो


काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि सबैभन्दा अनुकूल वातावरण भएको देशमध्ये एक भएको बताएका छन् । स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले नेपालले समावेशी आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको र निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख इन्जिनका रूपमा स्वीकार गरेको समेत बताए । राजनीतिक स्थायित्व, खुला बजार नीतिहरू, प्रतिस्पर्धी श्रम शक्ति र लगानी सुरक्षाका विधेयकहरूले नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्य बनाएको प्रधानमन्त्री ओलीको भनाई छ ।
उनले कानुनी, संस्थागत र प्रक्रियागत सुधारलाई थप प्रभावकारी बनाउँदै लगानी मैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।