फैसलाको विरोध गर्ने महासचिव तिवारीलाई अदालतद्वारा कारण देखाऊ आदेश


काठमाडौं । चिकित्सकीय लापरबाहीविरुद्ध उपभोक्ता अदालतले सुनाउँदै आएको क्षतिपूर्ति सम्बन्धी फैसला विरुद्ध विरोध प्रदर्शनको आह्वान गरेका नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. सञ्जीव तिवारीलाई उच्च अदालत पाटनले सात दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चले डा. तिवारीविरुद्ध अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता गरेपछि बिहीबार उच्च अदालतका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले ‘कारण देखाऊ’ आदेश जारी गरेको हो । आदेशमा तिवारीलाई आफैं उपस्थित भई लिखित जवाफसहित उपस्थित हुन भनिएको छ ।
पछिल्ला दिनमा उपभोक्ता अदालतले अस्पताल र चिकित्सकको लापरबाही, त्रुटि र हेलचक्र्याइँका घटनामा क्षतिपूर्ति आदेश दिन थालेपछि चिकित्सा क्षेत्रबाट त्यसको आलोचना हुन थालेको छ । एसोसिएसनका महासचिव तिवारीले कालोपट्टी बाँधेर सेवा दिने आह्वानसहित प्रेस विज्ञप्ति सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको हो ।
उक्त विरोधसँगै तिवारीमाथि न्यायिक प्रक्रिया प्रभावित पार्न खोजेको आरोप लागेको छ । उपभोक्ता मञ्चको दाबी अनुसार डा. तिवारीका आफन्त डा. ज्योत्सना शर्माविरुद्ध बिरामीको मृत्युसम्बन्धी लापरबाहीको मुद्दा उपभोक्ता अदालतमा विचाराधीन रहेको हुँदा तिवारीले व्यक्तिगत सरोकारका कारण संस्थागत विरोधमार्फत दबाब सिर्जना गर्न खोजेको हो ।
साथै, मञ्चले तिवारीमाथि पीडित पक्षलाई समेत मानसिक दबाब दिएको आरोपसमेत लगाएको छ । अदालतको पूर्णपाठ सार्वजनिक नहुँदै विरोध प्रदर्शनको आह्वान गर्नु, कानुनको गलत व्याख्या गर्नु र न्यायालयको सम्मानमा आँच आउने व्यवहार देखाउनु अदालतको अपहेलना भएको भन्दै तिवारीविरुद्ध कारबाहीको माग गरेको छ ।