Ad Image

अछामको जयगढ–शान्तडा सडकमा ठूलो पहिरो, घरसमेत जोखिममा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/unblurimageai_pahiro_U87ipNbWzd.jpg

काठमाडौं । अछाम जिल्लामा लगातारको वर्षाका कारण रामारोशन गाउँपालिका–२, मुजाबगरस्थित जयगढ–शान्तडा भित्री कच्ची सडकमा ठूलो पहिरो खसेको छ ।

शुक्रबार बिहान करिब ७ बजे खसेको पहिरोले करिब ५० मिटर सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

सडक माथिबाट खसेको पहिरोमा रुख, ढुंगा र माटोको ठूलो थुप्रो परेको छ । पहिरोको प्रत्यक्ष प्रभाव सोही स्थानका अम्मर रावलको दुईतले, चार कोठे ढुङ्गा–माटोको घरमा परेको छ, जुन हाल उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

सडक पुनः सञ्चालनमा ल्याउन प्रहरी नायब निरीक्षक (सई) गणेश बहादुर चन्दको नेतृत्वमा तीन जना सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिरो हटाउने कार्य जारी रहेको जनाइएको छ ।

यसैबीच, प्रहरीले स्थानीयवासीलाई जोखिमयुक्त क्षेत्रमा नजान र सतर्क रहन आग्रह गरेको छ । निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना उच्च रहेको बताइएको छ ।