Ad Image

रविको समर्थनमा हस्ताक्षर गर्ने ट्राफिक सई खड्काको जिम्मेवारी खोसियो

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/trafficc-police-1024x512.jpg

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेको आरोपमा नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्कालाई पदबाट हटाइएको छ ।

नेपाल प्रहरीको मुख्यालयले खड्कालाई तत्काल प्रभावबाट तानेर हेडक्वार्टरमा स्पष्टीकरणका लागि झिकाएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले खड्काविरुद्ध प्रारम्भिक छानबिन सुरु भएको जानकारी दिए ।

लामिछानेको समर्थनमा ’राजनीतिक प्रतिशोधविरुद्ध’ भन्दै रास्वपाले नागरिकस्तरबाट हस्ताक्षर संकलन अभियान चलाइरहेको छ । सोही अभियानमा ट्राफिक सई खड्काले हस्ताक्षर गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि विवाद भएको थियो ।

प्रहरी सेवामा कार्यरत व्यक्ति निष्पक्ष रहनुपर्ने सिद्धान्त विपरीत व्यक्तिगत वा राजनीतिक विषयमा सार्वजनिक समर्थन जनाउनु आचारसंहिताविरुद्ध ठहरिँदै उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरी स्रोत बताउँछ ।

हाल सई खड्का प्रहरी मुख्यालयको नियन्त्रणमा छन् र छानबिनपछि उनीमाथि अनुशासनात्मक कारबाही हुने वा नहुनेबारे निर्णय गरिनेछ ।