सभापति खतिवडा भन्छन्– ‘पार्टीले भने पद छोड्न तयार छु’


काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीको निर्देशन आएमा समिति सभापतिको पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले आफूमाथि उठेको विवादबारे पार्टीले निर्णय गरे आफू त्यसलाई स्वीकार गर्ने बताए ।
विवादको जड बनेको ‘संघीय निजामती सेवा विधेयक, २०८२’ को दफा ८२ मा उल्लेख गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा समितिबाट पारित गरिएको भन्दा फरक प्रावधान देखिएपछि खतिवडा आलोचित बनेका हुन् ।
यस विषयमा सत्ता गठबन्धनकै दल नेकपा एमाले र नेपाली कांग्रेसका केही सांसदहरूले समेत समितिको सभापति पदबाट खतिवडाको राजीनामा माग गरेका छन् ।
आफूबाट पनि गल्ती हुनसक्ने स्वीकार गर्दै खतिवडाले भने, “सभापतिको हैसियतमा मेरो पनि गल्ती छ होला। पार्टीले बाहिर बस भन्नुभयो भने म तयार छु।”