विष्णुपुरमा वडाध्यक्ष बने ठेकेदार, सडक मर्मत र ढलानमा अनियमितताको आशंका


सिरहा । सिरहाको अधिकांश स्थानीय तहहरूको वडा वडामा यती वेला विकास निमार्णको कामले तीव्रतापाएको देखिन्छ । जब असार सुरु हुन्छ तब गाउँ–गाउँमा असारे विकासको लहर चल्छ । असार लाग्ने बित्तिकै जताततै विकास निर्माण भइरहेको देख्न पाइन्छ ।
आर्थिक वर्ष २०८१\०८२ सकिन ४ दिन बाँकी रहँदा स्थानीय तह र प्रदेश सरकारका निकायहरू बजेट सक्ने चटारोमा छन् । यसपालि पनि असारमै सडक विस्तार, कालोपत्रे, ढल निर्माण र मर्मतलगायतका अन्य विकास निर्माणका काम सकाउन उपभोक्ताहरूलाई भ्याई नभ्याई छ ।
यसको ज्वलन्त उदाहरण हो सिरहाको विष्णुपुर गाउँपालिका १ मा उपभोक्ताहरूले गरिरहेको सडक ढलान कार्य । चोहर्वा सिरहा रोड दुर्गा मन्दिर देखि कालावन्जर गौरीपुर सम्म ५० लाखको लागतमा सडक ढलान कार्य गर्न पूर्वाधार विकास कार्यालय सँग २०८२ वैशाखको ९ गते जेठको ३० गते सम्म नै कार्य सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । आज शुक्रवार असारको २० गते अर्थात् असार मसान्त सकिन ४ दिन बाँकी छ । तर, ढलान कार्य अझै सम्पन्न भएको छैन । अचम्म त के छ भने ‘ढलान कार्य दिनमा होइन राती मात्र गर्ने गरेको पाइएको छ ।
बिना प्राविधिक रातीमा गरिने सडक ढलान कार्य कत्तिको गुणस्तरीय होला? मसान्त सकिन मात्र चार दिन बाँकी छ । तर काम सक्न अझै तिन दिन लाग्छ । के यो योजनाको भुक्तानी सम्भव छ? भनेर विष्णुपुर गाउँपालिका–१ का वडाध्यक्ष भोगीन्द्र यादवसँग प्रश्न गर्दा उनले आफ्नै निगरानीमा काम गराइरहेको जानकारी दिए । मेयरसाप डटकमसँग उनले भने, ‘अब चाडै काम सकिन्छ। अन्तिम समयमा ढलान कार्य सुरु भएकोले राती प्राविधिक नरहे पनि हामी आफ्नै निगरानीमा काम गराउँछौँ। राती अबेर सम्म त हैन। तर १० बजेसम्म सम्म काम भएको छ। ढलान कार्य राती भए पनि गुणस्तरीय भएको छ।’
तर, उता सडक ढलान कार्य गर्न नामकै लागी गठित उपभोक्ता समितिका अध्यक्ष प्रभेष कुमार महतो भन्छन्, ‘नामको लागी मात्र उपभोक्ता बनेको छ। वडाध्यक्षको भनाइलाई नङ्ग्याउँदै उनले अगाडि थपे, ‘राती करिब ३ बजेसम्म काम भएको छ। यो योजनाको काम वडाध्यक्ष भोगीन्द्र यादवले गराउँदै हुनुहुन्छ। हामीलाई नामको लागी मात्र उपभोक्ता समिति बनाएको हो। सडक ढलानमा लाग्ने सबै सामाग्री वडा अध्यक्षले मगाएर काम गराउँदै हुनुहुन्छ। योजनाको सम्झौता मिति पनि सकिएको छ। सम्झौता मिति सकिएको आज २२ दिन भइसक्यो। तर, निर्माण काम सकिएको छैन।’
यता पूर्वाधार विकास कार्यालयका प्रमुख रामदेव खरगाले रातीमा काम गराएको विषय जानकारी नरहेको बताए । उनले भने, ‘त्यस्तो बदमासी गरेको छ भने म प्राविधिकलाई पठाउँछु। त्यसको भुक्तानी हुँदैन।’
प्रदेशको योजना मात्र हैन स्थानीय तहको हालत पनि त्यस्तै छ । गोल बजार नगरपालिकाका अधिकांश क्षेत्रमा सडक विस्तार र कच्ची सडक निर्माण र कालोपत्रे मर्मत गर्न थालिएको छ । यी नगरपालिकाभित्र साना–ठुला गरी झन्डै २०–२५ वटा योजनाहरू सञ्चालनमै छ ।
यता, असार १५ सम्म निर्माण सम्पन्न गरी कागजात पेस गर्न सूचना समेत जारी गरी सकेको छ । तर, ती कतिपय योजनाहरूको काम अधुरै छ । सडकहरू स्तरोन्नतिको काम चलिरहेको नगरपालिकाका इन्जिनियर तथा योजना प्रमुख जय गनेश सिंहले बताए । उनले भने, ‘अधिकांश सडकको मर्मत, भवन निर्माण लगायतका योजनाहरू करिब अन्तिम चरणमा पुगेको छ । केहीमा अधुरै छ ।’
उनी अगाडि थप्छन्, ‘हामीले सकभर सबै योजना सम्पन्न गर्ने लक्ष्य लिए पनि हाल सम्म करिब ५० प्रतिशत योजना निमार्णकार्य सकिएको छ। १५ प्रतिशत योजना अझै रङिनमा छ। यो आर्थिक वर्षमा करिब ६५ प्रतिशत योजना मात्र सकिने देखिन्छ।’
तर, अचम्म त के छ भने, ‘गोल बजारमा योजनाको निर्माण कार्य सुरु छ। कति बजेट हो? कसले गराइरहेको हो? काम कसरी भइरहेको छ? निर्माण कार्य कोटेसनमा हुदैछ कि उपभोक्ता मार्फत हुदैछ? भन्नेबारे पालिकाका उच्च ओहदाका पदाधिकारीहरू तै चुप मै चुपको स्थितिमा छन्। नगरवासी पुरै अन्योलमा छन् । आयोजनाको सुचनापार्टी पनि कतै झुन्ड्याइएको पाइँदैन ।
यती सम्म कि संघीय सरकारको करिब १८ करोडको लागतमा चोहर्वा चौक देखि घुर्मीघाट सम्म ४० फिटको सडक कालोपत्रेको काम सुरु रहेको सडकमा पालिकाका कर्मचारीहरूले आर्थिक हिनामिना गर्नकै लागी गोल बजार स्थितको गुन्जा कन्स्ट्रक्सनलाई सडक मर्मत गर्न कोटेसन मार्फत १० लाख दिएको छ । त्यो पनि करिब ३० मिटर कालोपत्रे सडक मर्मतको जिम्मा पाएको गुन्जा कन्स्ट्रक्सनका सञ्चालक विजय साहले यो पालिकाको बजेट न भई सडक बोर्डको १० लाखको बजेट रहेको जिकिर गरे ।