घर जलेकोमा चिन्ता छैन, जलेको पालिकाको भवन हेरेर भक्कानिन्छु–मेयर मीनाकुमारी लामा

पालिकाले बेहोर्नुपर्ने भयो साढे ३२ करोड बराबरको क्षति, बजेट खर्चमा ‘प्रायोरिटी चेन्ज’

User Image अम्बिका खड्का | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/mina-kumari-lama.jpg
तस्बिर : राहुल कुमार ढकाल

काठमाडौं । गत भदौ २४ गते हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा हेटौंडास्थित प्रदेश प्रहरी प्रमुख (डिआइजी) को कार्यालयमा थिइन् । जेनजी आन्दोलनका क्रममा देशभरका सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी हुन थालेपछि सुरक्षाका विषयमा जनप्रतिनिधि, सुरक्षाकर्मी र प्रशासन क्षेत्रका कर्मचारीहरुबीच छलफल भइरहेको थियो । बेला–बेला बाहिरको माहोलबारे पनि उनले ‘अपडेट’ लिइरहेकी थिइन् । त्यहीबेला उनको मोबाइलमा एउटा लाइभ भिडियो आयो । ‘लाइभ’मा आफ्नै घर तोडफोड र आगजनी भइरहेको थियो । उनले मोबाइल रोल गर्दै जाँदा अर्को लाइभ पनि भेटिन्, आफ्नै पालिकाको भवन तोडफोड र आगजनी भइरहेको । आगो लगाउनेहरुले नै ‘लाइभ’ गरिरहेका थिए । अनि मेयर लामा उनीहरुकै ‘लाइभ’मा आफ्नो घर र उपमहानगर जलिरहेको हेरिरहेकी थिइन् । त्यो दिन उनीसँग त्यो भन्दा अरु विकल्प पनि थिएन्। 
‘प्रहरीले नै हात उठाइसकेपछि हामीले के गर्न सक्थ्यौं र ? सुरुमा त आँत्तिएर सुरक्षाकर्मीलाई भन्ने, सिडियो कार्यालयमा फोन गर्ने गरिरहेको थिएँ’, भदौ २४ गतेलाई सम्झँदै मेयर लामा भन्छिन्, ‘देश नै अस्तव्यस्त बनिसकेको थियो । मैले पालिका जोगाउन सक्ने अवस्था थिएन । नगर प्रहरीलाई आफू सुरक्षित हुन भनेँ । भौतिक क्षति भएपनि कुनै मानवीय क्षति नहोस् भनेर सचेत भएँ र सचेत गराएँ । अनि पालिका तोडफोड गरेको र जलाएको हेरिरहेँ ।’

‘जेनजीको टाउकोमा टेकेर कुनै समूहले नियोजित रुपमा आक्रमण गरेको हो’
भदौ २४ गते दिउँसो २ बजेसम्म हेटौंडामा खास्सै समस्या थिएन् । मेयर लामाका अनुसार २ बजेअघि २ वटा जेनजीका समूह आए । उनीहरुले नारा लगाए, अलिअलि ढुंगामुडा गरे र, गए । २ बजेभन्दा पछि भने एउटा अर्को समूह आयो । मेयर लामाका अनुसार जहाँ जेनजी भन्दा माथिका उमेर समूहका युवा थिए । चिनेका अनुहार कुनै थिएनन् । उनीहरु नारा लगाउँदै तोडफोड र आगजनीमा उत्रिए । केही क्षणमै उपमहानगरको भवन जल्यो, सवारी साधन जले, कागजपत्र, कम्प्युटरदेखि उपमहानगर परिसरमा रहेका कुनै पनि वस्तु सकुशल रहेनन् ।

मेयर लामाका अनुसार यो जेनजी समूहले नभएर अरु नै समूहले गरेको आक्रमण हो । ‘जेनजी आन्दोलनलाई हामीले पनि समर्थन गरेका थियौं । २३ गतेको आन्दोलनमा मैले आफैं नगर प्रहरीलाई पानी बाँड्न भनेको थिएँ । उनीहरुलाई आवश्यक सहयोग गर्न निर्देशन दिएको थिएँ’, मेयर लामा सम्झन्छिन्, ‘भदौ २४ गते जेनजी भाइबहिनी आए, नारा लगाए, गए । उनीहरुले यत्रो विध्वंश गर्नै सक्दैनन् । हामीले हेरिरहेका थियौं । तोडफोड गर्ने र आगजनी गर्ने आन्दोलनकारी होइनन् । नियोजित समूहले जेनजीको टाउकोमा टेकेर घटाएका घटना हुन् ।’

घर जलेकोमा वास्ता लागेको छैन, पालिकाको अवस्था देख्दा भने अझै पीडा हुन्छ
आन्दोलनका क्रममा मेयर लामाको हेटौंडा उपमहानगरपालिका–१ मा रहेको तीन तलको घरमा तोडफोड र आगोलागी भयो । छिमेकीले आगो निभाउन सहयोग गरे । परिवारका सदस्य घरमै थिए । आगोलागीबाट घरको पहिलो तलमा केही क्षति भयो । सफाइ र मर्मत गरेर उनको परिवार अहिले त्यही घरमा बसिरहेका छन् । तर मेयर लामालाई त्यो दिन घर जलेकोमा भन्दा बढी पालिका तोडफोड र  आगजनी भएकोमा पीडा भयो । उनी त्यो क्षण भौतिक रुपमा मात्र नभएर मानसिक रुपमा समेत शुन्यमा पुगेको बताउँछिन् ।
‘सासु–ससुराले बनाउनु भएको घर भएर हो कि मलाई खास्सै घरको पीर लागेन । मलाई पालिका जल्दा पालिकाका सवारी साधन यहाँ सम्मकी शव बाहान समेत जलाउँदा चै धेरै पीडा भयो’, लामा भन्छिन्, ‘त्यो दिन म प्रतिक्रियाबिहीन भएको थिएँ । शुन्यमा पुगेको थिएँ । के भइरहेको छ, म कहाँ छु जस्तो लागेको थियो। अहिले पनि सम्झँदा र कार्यालय पुग्दा, त्यहाँको अवस्था देख्दा मन निचोरिएर आउँछ । पीडा हुन्छ ।’

जेनजी आन्दोलनमा हेटौंडा उपमहानगरमा साढे ३२ करोड बराबरको क्षति

भवनमा मात्र १६ करोड ३७ लाख बढीको क्षति
आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट हेटौंडा उपमहानगरपालिकामा मात्र ३२ करोड ६५ लाख ५५ हजार बराबरको क्षति भएको छ । उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको संयोजकत्वमा गठन भएको ५ सदस्यीय कार्यदलले तयार गरेको क्षतिको विवरण अनुसार उपमहानरअन्तर्गतका भवनमा मात्र १६ करोड ३७ लाख भन्दा बढीको क्षति भएको छ । उपमहानगरको मूल कार्यालय भवन र सहायक भवन पूर्णरुपमा क्षति हुँदा १० करोड ९२ लाख बढीको क्षति भएको छ । उपमहानगरको १५ नम्बर वडा कार्यालय पनि पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । ११, १९, १०, ३, १, ४ र १३ नम्बर वडा कार्यालय, मोहन बज्राचार्य स्वास्थ्य कार्यालय वडा नम्बर ४ र प्रादेशिक कृषि थोक बजारको भवनमा समेत आंशिक क्षति पुगेको विवरणमा उल्लेख गरिएको छ । 

सवारी साधनमा मात्र ६ करोड ८८ लाख भन्दा बढीको क्षति
साना चार चक्के सवारी साधनहरु ७ वटा जलेर नष्ट भएका छन् । २ वटा टाटासुमो, रिनावल्ट डस्टरकार एक, स्ट्रोम जीप एक, फोटन पिकअप एक, स्कोर्पियो एक र टाटा योद्धा एक गरी ७ वटा साना चार चक्के सवारी साधन जलेर नष्ट हुँदा ३ करोड ९१ लाख ७५ हजार बराबरको क्षति भएको छ । जलेका यी सवारी साधन मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतका सवारी साधन थिए । 
त्यसैगरी पालिकामा रहेको एउटा शव बाहन, २ वटा ट्रिपर, २ वटा ट्याक्टर, १ वटा जेसिबि रोबोट, १ वटा रोलर, ब्याक हो लोडर, ग्रेडर, फोहोर उठाउने गाडी एक एक वटा, ४ वटा स्कुटर, ३ वटा निजी मोटरसाइकलसहित २० वटा मोटरसाइकल, एउटा निजी अटो र एउटा एम्बुलेन्स समेत जलेर पूर्ण रुपमा क्षति भएका छन् । उपमहानगरमा सवारी साधनमा मात्र ६ करोड ८८ लाख २५ हजार बराबरको क्षति भएको छ । त्यसैगरी कार्यालय सामाग्री तथा फर्निचरमा ९ करोड ३९ लाख ४२ हजार बराबरको क्षति भएको छ । 

आन्दोलनकारीको निशानामा कागजपत्र, बाहिर ल्याएर पनि जलाइयो
आन्दोलनको क्रममा उपमहानगर र वडा कार्यालयहरुका फाइल तथा कागजपत्रहरु धेरै जसो जलेर नष्ट भएका छन् । उपमहानगरको राजस्व कार्यालय, जिन्सी शाखा, स्वास्थ्य शाखा, सूचना प्रविधि शाखा, पूर्वाधार (ठेक्का र परामर्श सेवा तर्फ), आयुर्वेद शाखा, न्यायिक समिति र नगर प्रहरी एकाई जलेर पूर्ण रुपमा क्षति भएका कारण यहाँ भएका फाइल र कागजात समेत जलेर नष्ट भएका छन् ।
त्यसैगरी ३, ४, ११ र १५ नम्बर वडा कार्यालयका फाइल र कागजात समेत जलेर पूर्ण रुपमा नष्ट भएका छन् । १० र १९ नम्बर वडाका कागजातहरु जलेर आंशिक रुपमा नष्ट भएका छन् । नगर प्रमुखको सचिवालय, उपप्रमुखको सचिवालय, आर्थिक विकास महाशाखा, पूर्वाधार विकास महाशाखा, सामाजिक विकास महाशाखा र लेखा शाखा आगजनीबाट आंशिक क्षति भएका छन् भने बाहिर ल्याएर समेत कागजपत्र जलाइएको छ । 

जेनजी आन्दोलनपछि उपमहानगरको ‘प्रायोरिटि चेन्ज’
हेटौंडा उपमहानगरले अहिले जलेकै भवनबाट सेवा दिइरहेको छ । उपमेयरको कार्यकक्ष पूर्णरुपमा ध्वस्त भएका कारण बस्न योग्य छैन । उपमेयरले कहिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष त कहिले कुनै खाली भएको स्थानमा बसेर आफ्नो काम गरिरहेका छन् । मेयरको कार्यकक्ष सरसफाइ र रङरोगन गरेर केही बस्न लायक बनाइएको छ । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको अवस्था पनि बिजोग छ । थुप्रै विभागहरु पूर्ण रुपमा जलेका छन् । शब बहान, एम्बुलेन्सदेखि डोजरसम्मका उपकरण जलेका छन् । कम्प्युटर लगायतका कार्यालयका सामाग्री ध्वस्त छन् । तर पनि नियमित सेवामा कुनै कमी नगर्नका लागि जहाँ–जहाँबाट हुन्छ त्यहीँ व्यवस्थापन गरेर सेवा प्रवाह भइरहेको प्रमुख प्रशासकीय अधिकृत भरत गौतम बताउँछन् । 
उनी भन्छन्, ‘हामीले नियमित सेवा रोकेका छैनौं । आन्दोलनको केही दिनबाटै हामीले सेवा सुचारु गरेका थियौं । स्रोत साधन नहुँदा केही समस्या छ । जसले गर्दा कहिलेकाहीँ प्रभावित भएपनि हामीले नागरिकका नियमित सेवा रोकेका भने छैनौं ।’

प्रमुख प्रशासकीय अधिकृत गौतमले जेनजी आन्दोलनपछि उपमहानगरको प्राथमिकता भने परिवर्तन भएको बताए । आन्दोलन अघि विकास निर्माण, नगरस्तरिय कार्यक्रमहरु, खेलकुद प्रवद्र्धनका कार्यक्रम, कृषि अनुदान लगायतका कार्यक्रम उपमहानगरको प्राथमिकतामा थियो । जेनजी आन्दोलनका कारण साढे ३२ करोड भन्दा बढीको क्षति भएपछि अब पुनर्निर्माण र क्षति भएका स्रोतसाधनको परिपुर्ति नै पहिलो प्राथमिकता हुने उनको भनाइ छ ।

‘ठूलो क्षति भएको छ । त्यो परिपूर्ति गुर्न पनि हाम्रै दायित्व हो । त्यसैले यसअघि प्राथमिकतामा राखेर हामीले गर्ने भनेका काम गर्नका लागि अब स्रोत साधनले पुग्दैन’, गौतम भन्छन्, ‘अबको पालिकाको पहिलो प्राथमिकता भनेको पुनर्निर्माण, मर्मतसम्भार र आवश्यक सामाग्रीहरुको परिपूर्ति गर्नु हो । दोस्रो प्राथमिकता कर्मचारीको सेवासुविधा र तलबभत्ता हो भने तेस्रो अघिल्लो वर्षको बाँकी भुक्तानी दायित्व तिर्नु हो । अति आवश्यक कामका लागि पनि खर्च छुट्याउनै पर्छ । विपदका लागि बजेट छुट्याउनै पर्छ । त्यसपछि मात्र विकास निर्माण, नगरस्तरीय कार्यक्रम, कृषि अनुदान, खेलकुद आउँछ ।’

खर्च व्यवस्थापनको उपाय करारका कर्मचारी कटौती 
हेटौंडा उपमहानगरपालिकाले जेनजी आन्दोलनपछि अहिलेसम्म कर संकलनमा रहेका १४ जना, विज्ञ सल्लाहकार २ जना र अन्य क्षेत्रका ६ जना गरी २२ जना करारका कर्मचारी कटौती गरिसकेको छ । खर्च व्यवस्थापनका लागि मितव्ययिता अपनाउन र पालिकालाई खास्सै आवश्यक समेत नभएका कर्मचारी कटौती गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम बताउँछन् । 
उपमहानगरले नियुक्त गरेका र अहिले आवश्यक नभएका अरु पनि करारका कर्मचारी कटौती गर्दै जाने उपमहानगरको तयारी छ । यस विषयमा जनप्रतिनिधिहरु पनि सकारात्मक रहेकाले कुनै समस्या नहुने प्रमुख प्रशासकीय अधिकृत गौतमको भनाइ छ । हेटौंडामा कर्मचारी कटौतीका विषयमा निर्णय भने शुसासन समितिले गर्छ । यसअघि समितिले २२ जना कर्मचारी कटौती गरिसकेको छ । थप करार र ज्यालादारीका आवश्यक नभएका कर्मचारी कटौती गर्ने विषयमा समितिमा छलफल भइरहेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । 


 


 


Facebook Comments