Ad Image

स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp-oli-spain.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन असार १४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्पेन गएका थिए ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरे । उनले स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोंटेनेग्रोसँग समेत दुईपक्षीय वार्ता गरे ।

प्रधानमन्त्री ओलीले सम्मेलनमा सम्बोधन गर्नुका साथै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता समेत गरे । उनले विकास सहायतामा नयाँ सोचबारेका छलफल र अन्य साइड इभेन्टहरूमा समेत सक्रिय सहभागिता जनाए ।

भ्रमणको अन्तिम दिन उनले स्पेनको राजधानी म्याड्रिडस्थित रियल म्याड्रिड फुटबल क्लबको सान्टियागो बर्नाबेउ रंगशालाको भ्रमण गरे । त्यस्तै, स्पेनस्थित नेपाली दूतावासको निरीक्षण गर्दै नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया पनि गरे ।

प्रधानमन्त्री ओली दोहा हुँदै काठमाडौं फर्किएका हुन् ।