Ad Image

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aapone.jpg

कैलाली । गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटा क्षेत्रको आँप बगैँचा भाडामा लिएर ११ वर्षदेखि सफल व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

पहिले मालाखेतीस्थित घण्टेश्वर मन्दिरको जग्गामा व्यवसाय गरेका इन्द्रबहादुरले हावाहुरीबाट क्षति भएपछि आफ्नै दाजुभाइसँग मिलेर गोदावरी–५ स्थित पाँच बिघा क्षेत्रफलको अर्को आँप बगैँचा भाडामा लिएर पुनः व्यवसाय सुरु गरेका हुन्। उक्त बगैँचाको वार्षिक भाडा मात्र रु पाँच लाख पर्छ ।

अहिले आँपको सिजन चलिरहेको छ, र बगैँचामा लटरम्म फलेका आँप हेर्न र किन्न धनगढी, अत्तरिया, लम्की, कञ्चनपुरको महेन्द्रनगर, गुलरिया, दैजीलगायत ठाउँबाट ग्राहकहरू बगैँचामै पुग्ने गरेका छन् । “विषादीरहित भएकोले ग्राहकहरू बगैँचाबाटै आँप छानी किन्न आउनुहुन्छ,” इन्द्रबहादुरले बताए ।

हालसम्म झण्डै रु पाँच लाख बराबरको आँप बिक्री भइसकेको छ भने अझै आधाभन्दा बढी आँप बाँकी रहेको र थप रु १० लाख बराबरको आँप बिक्री हुने अनुमान गरिएको छ । व्यवसायी मानबहादुरका अनुसार कोही ढिलो पाक्ने जातका आँपहरू अझै पनि बजारमा आउने क्रम जारी छ ।

दैनिक कारोबार रु ३५ हजारदेखि ४५ हजारसम्म हुने गरेको र कुल आम्दानीबाट खर्च कटाएर करीब रु ८ लाखसम्म नाफा हुने गरेको उनीहरूको भनाइ छ । फुटकर मूल्य रु ८० र होलसेल मूल्य रु ६० प्रतिकिलो रहेको छ ।