जलविद्युत्को सेयरमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रयासरत छ: मन्त्री खड्का


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनाको सेयरमार्फत गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी बैठकमा आज आफ्नो धारणा राख्दै कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खड्काले गरिब तथा विपन्न जनतालाई सेयरमार्फत समृद्ध बनाउनेगरी सरकारले कार्ययोजना बनाएको उल्लेख गरे ।
नेता खड्काले पार्टीले लिएको समाजवादको सिद्धान्तलाई अवलम्बन गर्दै समृद्ध मुलुक निर्माणमा आफूले काम गरिरहेको बताए। “जलविद्युत् क्षेत्रमार्फत मुलुकको विकास सम्भव छ, म मन्त्री भएर आएपछि भारतसँगै बङ्गलादेशमा समेत विद्युत् निर्यात सुरु गरेका छौँ, उक्त कार्यसँगै त्रिदेशीय विद्युत् व्यापार भएको छ”, उनले भने ।
उनले भारत र भारत हुँदै बङ्गलादेश विद्युत् निर्यातका लागि ठूला प्रसारण लाइन निर्माणमा महत्त्वपूर्ण सम्झौता भई र प्रसारण लाइन निर्माण अगाडि बढेको जानकारी गराए । यस्तै विद्युत् उत्पादन तथा व्यापारका लागि चीनसँग सकारात्मक छलफल भएको उहाँले बताए ।
नेता खड्काले आफू मन्त्री भएपछि ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ऐतिहासिक र उत्कृष्ट काम भएको बताए । आगामी आर्थिक वर्षका लागि आफ्नो मन्त्रालयले समानुपातिक ढङ्गले बजेट विनियोजन गरेको उनको भनाइ थियो ।