ससुरालीमा विवाद हुँदा ज्वाइँले गरे सासू, ससुरा, पत्नी र सालोको ह*त्या

काठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् । भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
हतियार प्रहारबाट मृत्यु हुनेमा राजेन्द्रकी श्रीमती, सासु ४५ वर्षीया मञ्जु गिरि, ससुरा ६८ वर्षीय बेलबहादुर गिरि र १० वर्षीय सालो रहेका छन्। श्रीमती १६ वर्ष वर्षकी छन् । उनीहरुबीच करिब एक वर्ष अघि प्रेम विवाह भएको थियो ।
राजेन्द्र राईलाई भने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पेटमा धारिलो हतियारको चोट छ । उनी जिल्ला अस्पतालमा उपचाररत छन् ।
घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूबीच मनिषाको विषयमा विवाद भएको थियो । राजेन्द्र मनिषालाई लिन ससुराली पुगेका थिए। विवाद हुँदा सासूले आफूलाई छुरा हानेपछि आक्रोशमा आएर आफूले श्रीमतीसहित सबैको ज्यान लिएको राजेन्द्रले सुरूवाती बयान दिएको प्रहरीले जनाएको छ ।
गए राती करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकोले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।