Ad Image

प्रमुख पदहरूको नेतृत्व लिन तानसेनका महिलाहरू अग्रसर

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mahila janapratinidhi.jpg

पाल्पा । तानसेन नगरपालिकाका महिला जनप्रतिनिधिहरूले आफूहरू आगामी निर्वाचनमा वडा र नगर प्रमुखको नेतृत्व गर्न सक्षम रहेको बताएका छन् ।

विसं २०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित महिला सदस्यहरूले पछिल्लो तीन वर्षको कार्यानुभवले आफूहरूमा नेतृत्व क्षमताको विकास भएको जनाउँदै अब प्रमुख पदमा जाने तयारी भएको बताएका हुन् ।

तानसेन–२ की महिला सदस्य सविता भट्टराईले जनसम्पर्क, योजना निर्माण र कार्यान्वयनका अनुभवहरू संगालिएको बताउँदै भनिन्, “हामीसँग अब वडामात्र होइन, नगर प्रमुखको जिम्मेवारी सम्हाल्ने आत्मबल छ । सफलताका लागि नागरिकको साथ र पार्टीको अवसर चाहिन्छ।”

हाल कार्यवाहक वडाध्यक्षको रूपमा १४ वडामध्ये ३१ जना महिलाले जिम्मेवारी सम्हालेका छन् । तानसेन–५ की लक्ष्मी विकका अनुसार कार्यवाहक प्रमुखको जिम्मेवारी सफलतापूर्वक पूरा गरेकाले अब पूर्ण प्रमुख पदमा जान सक्ने विश्वास छ ।

कार्यपालिका सदस्य मञ्जु विकले राजनीतिक दलहरूले अवसर दिएमा जनताको समर्थनमा प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, “पार्टीले टिकट दिएर अनुमोदन गरे आगामी निर्वाचनमा नगर प्रमुख भएर जनताको सेवामा समर्पित हुनेछु।”

तानसेन नगरपालिकामा ७३ जना निर्वाचित जनप्रतिनिधिमध्ये ३३ जना महिला छन्। तिनमध्ये छ जना कार्यपालिका सदस्य र उपप्रमुख रहेका छन्, जसले कुनै बैठकसमेत छाडेका छैनन् । यस्तै, सबै महिला प्रतिनिधिहरू विषयगत समितिमा समेत सक्रिय छन् ।

महिला जनप्रतिनिधिहरूले पार्टीले टिकट दिएमा नेतृत्वमा पुगेर नगरपालिका सञ्चालनमा निर्णायक भूमिका खेल्न सक्ने आत्मविश्वास व्यक्त गरेका छन् ।