नेपाल–चीनबीच मित्रताको नमुना : नीलकण्ठ माविको भवन निर्माण


त्रिशूली । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको उपलक्ष्यमा चीन सरकारले रसुवाको नीलकण्ठ नमुना माध्यमिक विद्यालयमा अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण गरिरहेको छ । कालिका गाउँपालिका–५ स्थित विद्यालयमा निर्माण भइरहेको चारतले दुई भवनमध्ये करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
रु ८४ करोड लागतमा निर्माण भइरहेको सो भवन चीन सरकारले पूरै खर्च व्यहोरेको हो। निर्माण कार्य चाइना जिआङ्सु इन्टरनेशनल इकोनोमिक एण्ड टेक्निकल को–अपरेसन ग्रुपमार्फत भइरहेको हो । कम्पनीका अनुसार चिनियाँ उत्पादन सामग्री प्रयोग गरिँदै १८ जना चिनियाँ प्राविधिक र सयभन्दा बढी नेपाली कामदारले तीन सिफ्टमा २४ घण्टा काम गरिरहेका छन् ।
विद्यालयको पुरानो संरचना गोरखा भूकम्पले क्षति पुर्याएको थियो । हाल टहरामा अध्ययन गर्दै आएका विद्यार्थीले नयाँ भवन पाएपछि व्यवस्थित र सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा पाउने विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताए ।
सुविधायुक्त भवनमा पुस्तकालय, प्रयोगशाला, छात्रावास, सभाकक्ष, बास्केटबल मैदानसहितका संरचना हुनेछन् । हाल सो विद्यालयमा ४०० विद्यार्थी अध्ययनरत छन् भने १५० क्षमताको आवासीय संरचना निर्माणपश्चात जिल्ला बाहिरका विद्यार्थीलाई पनि आकर्षण गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
विसं २०२१ मा स्थापना भएको नीलकण्ठ माविको यो नयाँ भवन चिनियाँ वास्तुकलामा आधारित, बगैँचासहितको आकर्षक शिक्षा संरचना हुने निर्माण पक्षको दाबी छ । चीनसँग सीमा जोडिएका १० जिल्लामा बन्ने नमुना विद्यालयमध्ये यो रसुवाको एक हो ।
स्थानीय सरकार र जनताको सहयोगमा अबको १८ महिनाभित्र भवन हस्तान्तरण गरिने लक्ष्य लिइएको छ । विद्यालयले सीप विकास, अंग्रेजी तथा चिनियाँ भाषा शिक्षासहित उत्कृष्ट शिक्षण वातावरण तयार गर्ने तयारी थालेको छ । यस परियोजना नेपाल–चीन मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास गरिएको छ ।