Ad Image

निर्माणधीन एलिफेन्ट क्रसिङको काम ४५ प्रतिशत सम्पन्न

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1000023455.jpg

बिर्तामोड । एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माण भइरहेको ‘एलिफेन्ट क्रसिङ’ संरचनाको ४५ प्रतिशत काम सम्पन्न भएको छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न निर्माण थालिएको यो संरचना कोशी प्रदेशमा निर्माण भइरहेका यस्ता एकमात्र संरचना हो ।

आयोजना इञ्जिनियर आश्रय महतका अनुसार सिंगल लेनको ६० प्रतिशत र डबल लेनको ३५ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ । १५ मिटर लम्बाइ र ६.५ मिटर उचाइको संरचनामा कुल रु ३ करोड ३९ लाख लागत अनुमान गरिएको छ, जसमध्ये हालसम्म रु १ करोड ५२ लाख बराबरको काम सम्पन्न भएको छ ।

गत जेठमा आएको बाढीले डाइभर्सन संरचना बगाएपछि पुनः ह्यामपाइप प्रयोग गरेर डाइभर्सन निर्माण गरिएको छ । चाराली क्षेत्र वन्यजन्तुको नियमित आवागमन क्षेत्र भएकाले क्रसिङ निर्माण अत्यन्त जरुरी रहेको वन अधिकारी तथा अभियन्ताहरू बताउँछन् ।

अघिल्ला वर्षहरूमा हात्ती, चितुवा र बाघको आक्रमणबाट झापा र मोरङमा ३० जनाको ज्यान गएको बताइन्छ । बिर्तामोड, मेचीनगर, अर्जुनधारा र भद्रपुर क्षेत्र बाँदर, हात्ती, चितुवा र बाघको आतङ्क प्रभावित क्षेत्रमा पर्दछन् ।

स्थानीयवासी तथा वन अभियन्ताहरूले क्रसिङ संरचनाले वन्यजन्तुलाई सुरक्षित बाटो दिने र मानवीय क्षति न्यूनीकरणमा सघाउने अपेक्षा गरेका छन् । हात्ती अभियन्ता अर्जुन कार्कीका अनुसार हात्ती व्यवस्थापनलाई द्वन्द्वको दृष्टिले मात्र नभई संरक्षण र आर्थिक संभावनाको रूपमा पनि हेर्नुपर्छ ।

सम्बन्धित निकायहरूले समयमै निर्माण सम्पन्न गरी वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा दीर्घकालीन समाधान दिनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।