Ad Image

सुनकोशी मरिन डाइभर्सन निर्माण ढिलाइमा ठेकेदारलाई दोष लगाउँदै सरकार

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Marin_Sunkoshi_diverson.jpg

काठमाडौं । सांसदहरूले राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन निर्माणमा ढिलाइ हुनुको कारण माग गरेका छन् ।  प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूले सुनकोशी मरिन डाइभर्सन आयोजना ढिलाइ हुनुको कारण ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई सोधिएको हो । मन्त्री खड्काले ठेकेदारको लापरबाहीको कारण आयोजनाको काममा ढिलाइ भएको दाबी गरे ।

“ठेकेदारसँग हामीले कुरा पनि गरेका छौं । फिल्डमै पुगेर अनुगमन समेत गरेका थियौं । निर्माण व्यवसायीबाट मनसुनजन्य विपद्का कारण ढिलाइ भएको र समय थप गर्नुपर्ने माग भएको छ । अझै दुई वर्ष समय बाँकी रहेकाले ठेक्का रद्द गर्न पनि गाह्रो छ । जसरी भए पनि आयोजनाको काम समयमा नै सक्नका लागि ठेकेदारलाई निर्देशन दिइरहेका छौं,” उनले भने।

समितिका सभापति दीपक सिंहले सुनकोशी मरिन डाइभर्सन आयोजना जस्तो राष्ट्रिय गौरवको आयोजनामा निमित्त प्रमुखबाट काम गराउन नहुने भन्दै तुरुन्तै प्रमुख नियुक्त गर्न मन्त्रालयलाई सुझाव दिए । 

सांसदहरू राजेन्द्र बजगाईं, महेश बस्नेत, बिना लामा, शिव नेपालीलगायतले जलस्रोत विधेयकको विषयमा समेत जिज्ञासा राखेका थिए । मन्त्री खड्काले जलस्रोत विधेयक प्रतिनिधिसभाबाट राष्ट्रियसभामा पुगेको बताए ।