थाहा नगरपालिकामा अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार, अख्तियारले हाल्यो ६ जनाविरुद्ध मुद्दा

No Author Assigned | ३ महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/akhtiyar.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।  

नगरपालिकामा अक्सिजन जेनेरेसन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको हो। प्रदेश र संघ सरकारको गरी १ करोड ५५ लाख रुपैयाँ विनियोजन भएको योजनामा प्राविधिक मापदण्ड विपरीत प्रविधि छनोट गरी खरिद प्रक्रिया मिलेमतोमा अघि बढाइएको आयोगको दाबी छ ।

विशेष अदालतमा दायर आरोपपत्रमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, तत्कालीन लेखा अधिकृत हरिबहादुर खपाङ्गीमगर तत्कालीन ईन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, शुभारम्भ सर्भिस ट्रेडर्स प्रालि तथा उक्त प्रालिका अध्यक्ष तथा प्रोप्राइटर सोबित प्रसाई लगायतले प्राविधिक मूल्याङ्कनमा ‘सेटिङ’ मिलाएर कम गुणस्तरको प्रविधि छनोट गराएको उल्लेख छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा अक्सिजन प्लान्ट खरिदका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड र प्रदेश सरकारबाट ५५ लाख रुपैयाँ प्राप्त गरेको थियो । उनीहरूले ट्रेडर्स प्रा.लि.मार्फत गैरकानुनी लाभ लिई राज्यलाई आर्थिक हानी पुर्‍याएको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

 अख्तियारले उनीहरू उपर सार्वजनिक पदको दुरुपयोग, झुटा कागजात पेश, प्राविधिक मूल्याङ्कनमा बेइमानी, र भ्रष्टाचार सम्बन्धी अभियोगमा कारबाही माग गर्दै मुद्दा दर्ता गरेको हो ।

 


Facebook Comments