Ad Image

प्रमुख प्रशासकीय अधिकृतलाई दोष देखाएर बजेटलगायतका काम रोकिनु हुँदैन: उपप्रमुख डंगोल

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sunita dd.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृतलाई दोष देखाएर बजेटलगायतका काम रोकिन नहुने बताएकी छिन् । उनले अनेक बाहाना बनाएर काठमाडौं महानगरको बजेट नल्याइनु उचित नहुने बताएकी हुन् । 

प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिए कानूनबमोजिम तत्काल कार्बाही हुनुपर्ने आफ्नो मान्यता रहेको बताउँदै उनले अहिले भने प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका र नगरसभाका बैठक राख्ने विषयले समस्या उत्पन्न हुन नहुने बताएकी हुन् । 

‘मैले पटक–पटक भन्दै आएको छु र यहाँ पनि स्मरण गराउँन चाहन्छु कि प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्वपूर्ण कार्यलाई अवरोध पुर्‍याउनु हुँदैन। यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु बिल्कुलै उचित होइन। यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानूनबमोजिम तत्काल कार्बाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छु। कानुनी शासन र आफ्नो क्षेत्राधिकार भित्र रही सुशासन कायम गर्ने सन्दर्भमा नेतृत्व गर्न सदैव तयार छु । बरू यस मामिलामा जोसुकैबाट कैफियता वा अनियमितता भएको छ भने त्यसको पनि छानबिन तथा अनुसन्धान हुनु पर्दछ भन्ने मान्यता राख्दछु ।’ उनले भनिन्, ‘तर, हाल प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका र नगरसभाका बैठक राख्ने विषयले समस्या उत्पन्न गरेको भन्ने समाचारहरू आएका छन्। कानुनी हिसाबले पनि यो उचित छैन भन्नेमा म अडिग छु। प्रमुख प्रशासकीय अधिकृतको सन्दर्भमा  जनप्रतिनिधिले उहाँलाई बैठकमा नै राखेर खुल्ला रूपमा प्रश्न गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता छ। प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा सहभागी नगराई जनप्रतिनिधिलाई नै प्रश्न गर्ने अवसरबाट वञ्चित गराउनु उचित होइन।’


उपप्रमुख डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर खुला छलफल गर्न सबै जनप्रतिनिधिहरुमा आग्रह समेत गरेकी छन् । डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाच्ने दुर्भाग्यको बाटो रोज्न नहुने भन्दै हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।