जसपाका नेता अशोक यादव भन्छन्–मधेश कुनै न कुनै समय नेपालबाट अलग हुन्छ

काठमाडौं । नेपाल प्रहरीको खोजी सूचीमा रहेका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवले मधेस कुनै न कुनै समय नेपालबाट अलग हुने बताएका छन् । यादवले एक भिडियो सन्देश जारी गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेको अडियो भाइरल भएपछि यादव फरार छन् । पक्राउ पूर्जी जारी भएपछि फरार भएका यादवले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’
उनले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीहरुसँग याचना समेत गरेका छन् । उनले यसमा बिहारका सम्पूर्ण जनता, बिहारका सबै राजनीतिक दलका जनप्रतिनिधिहरू, नेतागण, बिहारका सम्पूर्ण प्रहरी अधिकारी र प्रहरीकर्मी प्रशासनलाई अपिल गरेका छन् ।
‘भारतमा नेपालका आन्दोलनकारीहरूलाई शरण मिल्दै आएको छ। सुरुदेखि नै हरेक विभिन्न किसिमका आन्दोलन भए। र आन्दोलनकारी कोही अपराधी वा हत्यारा होइनन्। तर स्थानीय स्तरमा सर्लाहीका एसपी र डीएसपी गुण्डागर्दी गर्दै भारतीय सेवा क्षेत्रमा, सीमावर्ती इलाकाका मानिसहरूलाई गलत आरोप लगाएर हामीले गलत काम गर्यौँ, हाम्रा आफन्तहरू‘ मेरा आफन्तका घरमा गएर छापा मारे। र छापा मारिरहेका छन् अहिलेसम्म।’ नेता यादवले भनेका छन्, ‘म बिहार सरकारसँग आग्रह एवं बिहारका सबै मानिसहरू तथा जनप्रतिनिधि र प्रहरी प्रशासनसँग आग्रह गर्दछु कि यो विदेशको मामला हो र राजनीतिक मामला हो। र हामीहरू आन्दोलनको लडाइँ अहिलेसम्म लडिरहेका छौँ। जनताको लडाइँ लडिरहेका छौँ। भारतमा हाम्रो शरण स्थल छ। भारतको हामीलाई समर्थन मिल्नुपर्छ, मिलेको छ।’
मधेशीलाई दोस्रो नागरिकको दर्जा दिइएको भन्दै उनले मधेश अलग हुन आवश्यक रहेको भनेर आफूले पटक–पटक सोचेको बताएका छन् । उनले अब आउने दिनमा विद्रोह हुने सम्भावना रहेको समेत बताएका छन् ।
यादवले भनेका छन्, ‘हामीले धेरै पटक के सोचेका थियौँ कि यो देशबाट मधेस अलग हुनुपर्छ। तर स्वाभिमानका लागि हामी नेपालको, नेपाल मेरो देश हो, म त्यो देशको नागरिक हुँ, त्यो पनि हामी गर्व गर्थ्यौँ। तर यो दमन शोषणले हामीलाई भित्रबाट धेरै ठुलो अब आउने दिनमा विद्रोह हुने सम्भावना छ।’