गोलबजारका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


सिराहा । गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीविरुद्ध अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। मकवानपुरको थाहा नगरपालिकाका तत्कालीन प्रमुख रहेका प्रशासकीय अधिकृत पुरीसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरी, तत्कालीन लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, तत्कालीन ईन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौं सुदर्शन पहेंली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, शुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. तथा उक्त प्रा.लि.का अध्यक्ष÷प्रोप्राइटर सोबित प्रसाईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पुरी हाल गोलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन्। उनीहरूविरुद्ध जनही १ करोड १० लाख १ हजार १९९ रुपैयाँ ७५ पैसा बिगो कायम गरी कैद र जरिवानासमेत माग गरिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा अक्सिजन जेनेरेसन प्लान्ट खरिदको लागि प्रदेश सरकारबाट ५५ लाख र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड गरी जम्मा १ करोड ५५ लाख रुपैयाँँ बजेट विनियोजन भएको थियो । उक्त बजेटमा आपसी मिलेमतोमा बदनियतपूर्वक स्वीकृत स्पेशिफिकेसनमा उल्लेखित विशेषता भन्दा फरक प्रवृति एवम् प्रविधिको सामान उपलब्ध गराउन प्रस्तावक सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि ले पेश गरेको १ करोड १० लाख १ हजार १९५ रुपैयाँ ७५ पैसाको बोलपत्रलाई प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण गराई सम्झौता गरेको अख्तियारको ठहर छ।