युनुस अन्सारीलाई १५ लाख धरौटीमा छाड्न आदेश, धरौटी बुझाउन नसकेपछि कारागार चलान


काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश बलराम लम्सालको इजलासले अन्सारीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले धरौटीमा छाड्न आदेश दिएपनि धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको छ ।
अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो । प्रहरीले अन्सारीविरुद्ध अनुसन्धान सकेर शुक्रवार रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको थियो ।
याे मुद्दामा युनुससहित ४ जना र १ संस्थाविरुद्ध मुद्दा दायर भएको छ। युनुस अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनसहित युनुसकी श्रीमती सालमा खातुन, प्रमीला अधिकारी र सुवेश्वरप्रसाद कुशवाहलाई खाताको रकम जफत गर्नका लागि प्रतिवादी बनाइएको छ। यी तीनै जना फरार छन्। उनीहरूको खातमा १५ लाख ५९ हजार २०९ रुपैयाँ रहेको छ। उक्त रकम जफत गर्न पनि माग गरिएको छ। त्यस्तै युनुसको नाममा रहेको जग्गा पनि जफत गर्न माग गरिएको छ।
यसअघि युनुस नक्कली नोट कारोबारको आरोपमा ६ वर्ष जेल सजाय भुक्तान गरेर गत जेठ १० मा छुटेका थिए । नक्कली नोट कारोबारमा छुट्ने बित्तिकै उनी सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।