सिराहाकाे जनता नमूना माविका छात्राहरू शिक्षकबाटै असुरक्षित, चारजनाले खोले यौन हिंसाको पीडा


सिराहा। चार जना छात्रामाथि लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोपमा सिराहाको गोलबजार नगरपालिका–८ स्थित जनता नमूना माध्यमिक विद्यालयका शिक्षक पक्राउ परेका छन् । शिक्षक हरि श्रेष्ठले लामो समयदेखि आफूहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै छात्राहरुले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।
श्रेष्ठले कक्षामा पढाउने क्रममा बालिकाहरुको संवेदनशील अंगहरु छुने, शरीर मुसार्ने, अङ्गालो हालेर गाला सुम्सुम्याउने जस्ता क्रियाकलाप गर्ने गरेका थिए ।
पीडित बालिकाहरुले शिक्षकको दुर्व्यवहारका बारेमा अभिभावक र विद्यालयकै शिक्षिका रञ्जु सिंहलाई भनेपछि घटनाको जानकारी विद्यालयका प्रधानाध्यापक ब्रह्मदेव सिंहसम्म पुगेको थियो । प्रधानाध्यापक सिंहले शिक्षक हरि श्रेष्ठलाई घटनाबारे सोधपुछ समेत गरेका थिए ।
घटना सार्वजानिक भएपछि श्रेष्ठले पीडित बालिकाहरूको घरमै पुगेर आफूले बदनियतपूर्वक केही नगरेको भन्दै घटनालाई अगाडि नबढाउन आग्रह गरेका थिए । उनले बालिकाका परिवारसँग माफि समेत मागेको पीडित बालिकाका परिवारजनले जनाए ।
पीडित बालिकाका परिवारजनले भने श्रेष्ठलाई कानुनी कार्बाहीका लागि प्रक्रिया अगाडि बढाउन विद्यालय प्रशासनलाई दबाब दिएका थिए । विद्यालयका प्रधानाध्यापकलगायत केही शिक्षकहरुले घटना दबाउन खोजेको भन्दै स्थानीयले विद्यालयको प्रशासनिक भवनमा तोडफोड समेत गरेका थिए । तर प्रधानाध्यापक सिंहले घटनाका विषयमा अभिभावकले लगाएको आरोप झुठो भएको फोनमार्फत प्रतिक्रिया दिए । छोटो कुराकानीमा सिंहले भेटेरै सबै बताउने भन्दै विषयबाट पन्छिने प्रयास गरे ।
महिला हिंसाको विषयमा वकालत गर्ने संस्था मुक्ति नेपालले घटनाबारे अध्ययन गर्दा बलिकाहरु पीडित भएको पाएको अध्यक्ष देवकुमारी रामले बताइन् । उनले भनिन्, ‘पहिलो कुरा यसरी बालिकाहरु यस्तो घटनामा प्रहरीसम्म पुग्दै पुग्दैनन्। बालिकाहरु प्रहरीमै आएर उजुरी दिएकाले पनि उनीहरु पीडित रहेको भन्न गाह्रो छैन।’
इलाका प्रहरी कार्यालय गोलबजारले पीडित बालिकाहरुलाई थप स्पष्ट हुन एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सिराहा पठाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंह भने विद्यालयमा बालिकाहरुमाथि यौन हिंसा नभएको दाबी गर्छन् । घटना सार्वजनिक भइसकेपछि पनि अध्यक्ष सिंह ‘केही शिक्षक र व्यक्तिहरु विद्यालयलाई बदनाम गर्न यस्ता आरोप बाहिर ल्याएको’ भन्दै गैरजिम्मेवार जवाफ दिन्छन् । अध्यक्ष सिंह भन्छन्, ‘कामचोर केही शिक्षकहरु र बाहिरकै व्यक्तिहरु विद्यालयलाई धारासायी बनाउने योजनामा छन्, उनीहरुकै ग्र्याण्ड डिजाइनमा घटना रचिएको हो।’
घटना सर्वाजिनक भएपछि शिक्षक श्रेष्ठलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।