सुरक्षा समिति र विपद प्राधिकरणको आकस्मिक बैठक बस्दै

काठमाडौं । केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्दै छ। रसुवामा आएको बाढीले पुर्याएको क्षति र सुरक्षाका विषयमा छलफल गर्न गृह मन्त्रालयमा आज दिउँसो १ बजे बैठक बस्ने भएको हो ।
चीनमा परेको अविरल वर्षाका कारण रसुवागढीमा भारी मात्रामा आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार भोटेकोसी नदीमा आएको बाढीमा परी अहिलेसम्म ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् भने ९ जनाको उद्धार गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेर आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिरहेका छन् । अर्थमन्त्री विष्णु पौडेल रसुवागढीमा बाढीका कारण पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न जाने भएका छन् ।