Ad Image

राष्ट्रिय सभामा सांसद पुडासैनीको माग–मनसुन सुरु भएपछि हतारमा गरिने निर्माण कार्य रोकिनुपर्छ

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bishnu-Debi-Pudasaini.jpg

काठमाडौं । सांसद विष्णुदेवी पुडासैनीले असारे विकासको प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन्। आज राष्ट्रिय सभाको बैठकमा उनले असारको समयमा पूर्वाधार निर्माण हतार गर्दा गुणस्तर नहुने भएकाले मनसुन लागेपछि गरिने विकास रोक्नुपर्ने बताएकी हुन् । 

“वर्षाको समयमा सडक निर्माण गर्दा दुर्घटना बढ्ने र गुणस्तरहीन पूर्वाधार निर्माण हुने भएकाले मनसुन सुरु भएपछि हतार हुने निर्माण कार्य रोकिनुपर्छ,” सांसद पुडासैनीले भनिन् । उनले रसुवामा आज बिहान ३ बजे आएको बाढीबाट घाइतेहरूको तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिन्।  

मुलुकमा आत्मनिर्भरता बढाउनुपर्ने, रोजगारी सिर्जना गरी युवा पलायन रोक्नुपर्ने उनको भनाइ छ । 

सांसद गङ्गाकुमारी बेल्बासेले पनि रसुवामा आएको बाढीले घाइते भएकाको तत्काल उद्धार र राहत व्यवस्थापनका लागि पहल गर्न सरकारलाई आग्रह गरिन् ।  उनले प्रदेश सरकारले आर्थिक रूपमा सबल हुन ठोस कदम चाल्नुपर्नेमा जोड दिइन् ।

सांसद तुलसाकुमारी दाहालले संविधानमा उल्लेख गरिएका मौलिक हक कार्यान्वयनका लागि बनेका ऐनहरूको नियमावली नबन्दा कार्यान्वयनमा कठिनाइ आएकाले यस विषयमा तत्काल छलफल आवश्यक रहेको बताइन्। “आवासको हक कार्यान्वयनका लागि विधेयकको मस्यौदा तयार भएको छ । अब समयमा नै स्वीकृत गरेर कार्यान्वयनमा जानुपर्छ,” दाहालले भनिन्, “जनस्वास्थ्यसँग सम्बन्धित ऐनहरूलाई संविधान अनुकूल बनाउने प्रक्रिया अघि बढाउन आवश्यक छ ।”

सांसद दाहालले मुलुकमा काठजन्य वस्तुको आयात भइरहेकाले अब काठमा आत्मनिर्भरता हासिल गर्नुपर्नेमा जोड दिइन् । उनले विश्वविद्यालयहरूको सञ्चालनमा एकरूपता ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् । सांसदहरूले मनसुनजन्य विपद् व्यवस्थापन, पूर्वाधारको दीर्घकालीन योजना, शिक्षा तथा रोजगारीमा ध्यान दिनु मुलुकको दीर्घकालीन हितमा हुने धारणा राखिन् ।