गभर्नर पौडेलविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले गभर्नर विश्व पौडेलको नियुक्ति बदरका लागि दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले पौडेलको गभर्नर पद बदर गर्न आदेश दिन अस्वीकार गरेको हो ।
गभर्नर नियुक्तिविरुद्धका रिटलाई सर्वोच्चले अग्राधिकार प्रदान गरेको छ । गभर्नरमा पौडेलको नियुक्ति गैरकानुनी दाबी गर्दै सर्वोच्चमा तीन थान रिट दर्ता भएका थिए ।
गत वैशाख २८ गते पौडेललाई गभर्नर बन्न रोक्नुपर्ने माग गर्दै अधिवक्ता नवीन धितालले रिट दायर गरेका थिए । जेठ १३ गते अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए । जेठ १३ गते नै अधिवक्ता रामप्रसाद गौतमले पनि पौडेलको नियुक्ति बदरको माग गर्दै अर्को रिट दायर गरेका थिए ।