बाढीपीडितको उद्दार गर्न गएको सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा ल्याण्ड


काठमाडौं । रसुवामा बाढीबाट प्रभावितहरुको उद्दारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै रोकिएको छ ।चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएको स्रोतको दाबी छ।
तर सेनाका अधिकारीहरुले भने प्राविधिक कारण हेलिकोप्टर चीनतर्फ अवतरण गराइएको बताएका छन् । सीमापारि पनि उद्धार गर्नुपर्ने आवश्यकता भएकाले हेलिकोप्टर चीनतर्फ गएकोमा प्राविधिक समस्याका कारण हेलिकोप्टर अवतरण गर्नु परेको र मर्मतपछि फर्किने सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए ।
बाढीबाट चीनतर्फ रोकिएका करिब १५० जना नेपालीलाई उद्धार तथा सुरक्षित स्थानतर्फ लैजान हेलिकोप्टर गएको बताइएको छ । यसबारे नेपालको स्थानीय प्रशासनले गृह मन्त्राल, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।
मंगलबार बिहानै चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता छन् । नुवाकोटको त्रिशुली किनारमा २ जनाको शव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ५५ जनाको उद्दार गरेका छन् ।