Ad Image

दाउन्नेमा पहिरोले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/daunne-pahiro-rss-1024x576.jpg

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवलखण्डको दाउन्नेमा पहिरोले सडक बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । 

गए रातिदेखि परेको वर्षाका कारण दाउन्ने नजिक बर्दघाट–४ खुर्सानी खोलामा आएको पहिरोले सडकको केही भाग बगाउँदा आज बिहानबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार पहाडमाथिबाट पहिरो खस्दा सडकको केही भागसमेत बगेको छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु१क ५८२७ नम्बरको मालवाहक ट्रक पहिरोका कारण सडकको बीचमा फसेको उनले बताए । सडकमा करिब ५० मिटर पहिरो खसेको पन्तले बताए ।

पहिरो हटाउनका लागि सडक योजनाका कर्मचारी, प्रहरी तथा सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य बर्सा हुँदा यातायात अवरुद्ध हुने गरेको छ ।