बंगलादेशका पूर्व प्रहरी प्रमुख दोषी ठहर, शेख हसिनालाई लगाइयो अभियोग


एजेन्सी । बंगलादेशका पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह मामुनले गत वर्ष प्रदर्शनकारीमाथि भएको दमनका क्रममा मानवता विरुद्धको अपराधमा आफ्नो दोष स्वीकार गरेका छन् ।
बिहीबार पुनः सुरु भएको एक मुद्दामा अभियोजकहरूले यो जानकारी दिँदै यसै मुद्दामा पूर्व प्रधानमन्त्री शेख हसिनालाई पनि औपचारिक रूपमा अभियोग लगाइएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार, २०२४ को जुलाई र अगस्टमा हसिना सरकारले विद्यार्थी नेतृत्वको विद्रोहलाई दबाउने प्रयास गर्दा १,४०० भन्दा बढी मानिस मारिएका थिए ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले हसिनाको अपदस्थ सरकार र उनको अहिले प्रतिबन्धित पार्टी अवामी लिगका पूर्व वरिष्ठ अधिकारीहरूलाई मुद्दा चलाइरहेको छ ।
आईसीटीका प्रमुख अभियोजक मुहम्मद ताजुल इस्लामले मामुनले जुलाई–अगस्ट विद्रोहको समयमा भएका अपराधहरूबारे आफूसँग भएका सबै जानकारी दिँदै साक्षीको रूपमा अदालतलाई सहयोग गर्न सहमत भएको बताए । अदालतले मामुनको सुरक्षाका लागि छुट्टै आवासको व्यवस्था गर्न पनि अनुमोदन गरेको छ ।
न्यायाधिकरणले बिहीबार हसिना र उनका गृहमन्त्री असादुज्जमान खान कमालमाथि लागेका आरोपहरू खारेज गर्न वकिलहरूको अनुरोधलाई अस्वीकार गरेको छ, जसले गर्दा दुवैलाई यसै मुद्दामा औपचारिक रूपमा अभियोग लगाइएको छ ।
१५ वर्षको शासनपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट भारत भागेकी थिइन् र ढाका फर्कने आदेशको अवहेलना गरिरहेकी छिन् । उनीविरुद्ध आईसीटीमा कम्तीमा पाँचवटा आरोप छन्, जसमा ‘जुलाई विद्रोहको समयमा सामूहिक हत्याका लागि उक्साउने, प्रेरणा गर्ने, संलग्नता, सहजीकरण, षड्यन्त्र र रोकथाम गर्न असफल हुने’ समावेश छन् ।
अभियोजकहरूले हिंसाका लागि हसिनाले समग्र कमान्डको जिम्मेवारी लिएको बताएका छन् । यसअघि जुलाई २ मा उहाँलाई छुट्टै मुद्दामा अदालतको अवहेलनाको दोषमा दोषी ठहराउँदै छ महिनाको सजाय तोकिएको थियो । पूर्वमन्त्री कमाल पनि भारतमा रहेको विश्वास गरिन्छ ।