स्थानीय चुनाव केन्द्रित अभियानका लागि रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी (सूचीसहित)

User Image मेयरसाप डेस्क | २०८३ असोज १८ गते ०९:१७
Image of https://mayorsap.com/storage/photos/shares/rsp-rabi-balen.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका पालिकामा सञ्चालन गर्ने अभियानका लागि आफ्ना नेता तथा सांसदहरूलाई जिम्मेवारी तोकेको छ।

रास्वपाले असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्दै ७७ वटै जिल्लाका ७५३ पालिकामा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरू परिचालन गर्ने भएको छ। अभियानमा पार्टीका सबै केन्द्रीय सदस्य तथा सांसदलाई अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिइएको छ।

रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको उद्देश्य नागरिकका कुरा सुन्नुका साथै पार्टीका धारणा, योजना र सरकारले पछिल्लो ६ महिनामा गरेका कामबारे नागरिकलाई जानकारी गराउनु पनि हो।

अभियानका क्रममा स्थानीय तहको कामकारबाही, आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्ने विधि तथा पार्टीले अघि सारेको उम्मेदवार छनोट प्रक्रियाबारे नागरिकलाई जानकारी गराइनेछ।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि सक्षम र नेतृत्व गर्न तयार व्यक्तिलाई उम्मेदवार बनाउने भन्दै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको छ। पार्टीले यसअघि ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ तथा लोकतान्त्रिक छनोट प्रक्रियामार्फत उम्मेदवार चयन गर्ने बताएको थियो।

सरकारका ६ महिनाका काम पनि सुनाउने

रास्वपाले ‘हामी आउँदै छौँ’ अभियानलाई सरकारका पछिल्ला ६ महिनाका कामबारे नागरिकलाई जानकारी गराउने माध्यमका रूपमा समेत अघि बढाउने जनाएको छ।

अभियानका क्रममा सरकार गठन भएपछि संसद् र सरकारमार्फत भएका नीतिगत पहल, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्था तथा आगामी योजनाबारे जानकारी गराइने पार्टीको भनाइ छ। साथै, नागरिकका समस्या, गुनासा र सुझाव पनि संकलन गरिनेछ।

सहमहामन्त्री डाँगीले अभियानलाई आगामी स्थानीय निर्वाचनको तयारीमा मात्र सीमित नभई स्थानीय सरकारलाई थप जवाफदेही बनाउने र नागरिकको सहभागितामा नेतृत्व चयन गर्ने अभ्यासका रूपमा अघि बढाउन खोजिएको बताएकी छन्।

उम्मेदवार छनोट समिति पनि विस्तार

यसअघि रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको थियो। समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामीलाई सदस्य मनोनयन गरिएको छ। सातै प्रदेशका सभापति समितिको पदेन सदस्य रहनेछन्।

केन्द्रीय समिति बैठकले विभिन्न विभागमा पनि प्रमुख तथा उपप्रमुखको जिम्मेवारी तोकेको छ।

अभियानका लागि जिम्मेवारी पाएका नेता तथा सांसदहरूको विस्तृत सूची तल हेर्नुहोस्।

 


Facebook Comments