संसद् भवनमा ड्रोन उडाउने 'टेक स्पाएर कलेज'का शिक्षकसहित ५ जना पक्राउ


काठमाडौं। संसद् भवनभित्र ड्रोन खसेको घटनामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बानेश्वरको टेक स्पायर कलेजका प्राध्यापक एवं रोवर्टी डिपार्टमेन्टका प्रमुख विजयबाबु रेग्मीसहित चार जना विद्यार्थी रहेका छन् ।
पक्राउ पर्ने विद्यार्थीहरुमा सुमन महर्जन, सुजलकाजी श्रेष्ठ, समिप खतिवडा र अफताव रेजा रहेका छन् । उनीहरू ‘ब्याचलर अफ साइन्स इन आईटी’ मा तेस्रो र दोस्रो सेमेस्टारमा अध्ययनरत हुन्।
निषेधित क्षेत्रमा ड्रोन खसेपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरुलाई बिहीबार पक्राउ गरेको हो । असार २३ गते राति ९ बजे संसद भवनभित्र ड्रोन खसेको थियो । अनुसन्धानका क्रममा उक्त ड्रोन विद्यार्थीले अभ्यास गर्ने क्रममा खसेको पाइएको छ। टेक्निकल सपोर्ट फेल भई उक्त ड्रोन संसद भवन भित्र खस्न गएको भनि प्रमुख रेग्मीले प्रहरीलाई जानकारी गराएका छन्।
कलेजले ड्रोन खरिद गर्दाका सक्कल बिल, ड्रोन चलाउँदै गरेको फोटो भिडिओ, ड्रोन कन्ट्रोलर समेत प्रहरी वृत्त बानेश्वरलाई जिम्मा लगाइसकेको छ। कलेजका प्रिन्सिपलले असावधानीवस घटना भएको भन्दै प्रहरीलाई पत्रसमेत पठाएका छन्।