त्रिविले ल्यायो २८ अर्ब १२ करोड बढी बजेट


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि रु २८ अर्ब १२ करोड ५७ लाख २१ हजार बजेट पारित गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत सो बजेट पारित गरेको हो । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ७ दशमलव ४८ प्रतिशतले बढी हो । बजेटमा त्रिविको आन्तरिक स्रोतबाट ४९ दशमलव ३९ (रु १३ अर्ब ८८ करोड ९३ लाख) र नेपाल सरकारबाट ५० दशमलव ६१ प्रतिशत (रु १४ अर्ब २३ करोड ६३ लाख) प्रस्ताव गरिएको छ ।
बजेटले समयसापेक्ष बजारमुखी नयाँ विषयको अध्यापन तथा अनुसन्धान सुरु गर्ने र विद्यमान पाठ्यक्रमको परिमार्जन गर्ने नीतिलाई प्राथमिकता दिएको छ ।
बैठकले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित पनि गरेको छ । नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले कार्यभार सम्हालेको भोलिपल्ट यो पहिलो सिनेट बैठक भएको हो ।