काठमाडौंमा मोटरसाइकल दु*र्घटना हुँदा चालकको मृ*त्यु

सातदोबाटो । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ स्थित तीन थानामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
थानकोटबाट कलङ्कीतर्फ जाँदै गरेको बा.८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक रोशन ढकालको ज्यान गएको प्रहरीले जनाएको छ ।
करिब ३६ वर्षीय ढकाल थानकोटका स्थानीय बासिन्दा हुन् । शुक्रवार बिहान पौने ४ बजेतिर ढकालले चलाएको मोटरसाइकल डिभाइडरमा ठोक्किएपछि बागमती प्रदेश–०२–०४२ प ९८२२ नम्बरको स्कुटरमा समेत ठोक्किएको थियो ।
दुर्घटनामा स्कुटर चालक विवेक केसी धादिङ धुनिवेशी वडा नम्बर–९ का स्थायी बासिन्दा घाइते भएका छन् । उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।