छोरेपाटन माविका अध्यक्षमाथि दलियो ‘कालो मोसो’


पोखरा । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पोखराको छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीमाथि भ्रष्टाचारको आरोप लगाउँदै ‘कालो मोसो’ दलेर दुव्र्यवहार गरेका छन् ।
अखिल क्रान्तिकारी गण्डकी प्रदेश संयोजक राजन साउदले विज्ञप्ति निकालेर घटनाको जिम्मा लिँदै यसलाई ’सांकेतिक कारबाही’ भएको दाबी गरेका छन् । उनीहरूले करिब २२०० विद्यार्थी पढ्ने विद्यालयको मुख्य आयस्रोत मानिने पातले छाँगोलाई पोखरा महानगरपालिका हुँदै निजी कम्पनीलाई ठेक्का दिने सम्झौता गरेको भन्दै पहारीमाथि दुव्र्यवहार गरेका हुन् । क्रान्तिकारीले सम्झौतामा हस्ताक्षर गर्ने प्रधानाध्यापक विल्लीराम शर्मालाई पनि राजीनामा दिन चेतावनी दिएका छन् ।
सेती क्यान्योन प्रालिलाई छाँगोमा सिसाको पुल निर्माण र अन्य पूर्वाधार विकासका लागि ४० वर्षका लागि ठेक्का दिइएको छ । यसअघि नै विद्यालय पनि महानगरलाई छाँगो सञ्चालन गर्न दिन राजी भइसकेको थियो ।
२०८० साउन १० गते नै पोखरा महानगरका जनप्रतिनिधि, कर्मचारी र कम्पनीका अध्यक्षसँग बसेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारी, पूर्वअध्यक्षहरू झपिन्द्रराज रेग्मी र तीर्थराज अधिकारीले उक्त सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।